Monday, May 4News That Matters

उदयपुरमा पर्याप्त वर्षात नभएपछि असार अन्तिमसम्म २५ प्रतिशत मात्र रोपाई

पूर्णपुष्टि, असार ३० । उदयपुर जिल्लामा पर्याप्त वर्षात नभएपछि असार अन्तिमसम्म २५ प्रतिशत मात्र धान रोपाई भएको छ । असार सकिनै लाग्दा पनि भनेजस्तो बर्षात नभएपछि जिल्लामा रोपाई हुन नसकेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।

केन्द्रका कृषी प्रसार अधिकृत महेश कुमार चौधरीका अनुसार बर्षेनी १४ हजार ९ सय ३४ हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको याहाँ हालसम्म २५ प्रतिशत मात्र रोपाई भएको छ । गत बर्ष जिल्लामा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा धान खेति गरिएको थियो भने यसवर्ष असार अन्तिमसम्म ३ हजार ७ सय ३३ हेक्टरमा मात्र धान रोपाई भएको छ । समयमा वर्षा नभएपछी धान रोपाई प्रभावित भएको छ ‘अधिकृत चौधरीले भने’ वर्षा सुरुभएपछी रोपाई बढ्नेछ ।

किसानहरुले १४ सय ५४ हेक्टरमा लगाएको चैते धान उठाईसक्न लागेको र बर्षा नभएको कारण उठाउन सजिलो भएको उनले बताए । जिल्लाको उदयपुरगढी गाउँपालिकाको नेपालटार र कटारी नगरपालिकाको देउलीकुना क्षेत्रमा किसानहरुले चैते धान लगाएका थिए ।

गतबर्षको तुलनामा यसवर्ष जिल्लामा धान खेति हुन नसकेको अधिकृत चौधरीले जनाए । जिल्लाको ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा मात्र सिंचाईको सुविधा पुगेको छ । बाकीँ क्षेत्रफलमा आकाशे पानिको भरमा किसानहरुले रोपाई गर्दै आएका छन् । यस वर्ष पर्याप्त बर्षा नहुँदा सिंचाई पुगेको क्षेत्रमा पनि मुल नफुट्दा रोपाई प्रभावित भएको छ । पर्याप्त वर्षात नभएको कारण पहाडी भेगमा पर्ने उदयपुरगढी, ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिकाको खेतहरुमा रोपाई हुन सकिरहेको छैन् । जिल्लाको कटारी , त्रियुगा , वेलका , चौदण्डीगढी नगरपालिकामा धेरै धानखेति हुने गरेको छ ।