Thursday, June 25News That Matters

उदयपुरमा पूर्व–पश्चिम बरुवा बसर्पाक आजदेखि सञ्चालन

पूर्णपुष्टि, मंसिर १६
उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका–१३ अन्तर्गत रहेको बसपार्क मेयर बलदेव चौधरीले उद्घाटन गरेसंगै सञ्चालनमा आएको छ । पूर्वपश्चिम मदन भण्डारी राजमार्गमा बढ्ने सवारी चाँपलाई मध्यनजर गर्दै निर्माण भएको पूर्वपश्चिम बरुवा बसपार्क विहिबारबाट सञ्चालनमा आएको हो । काठमाडौंको रात्रीकालिन बस तथा जिल्लाको पहाडी क्षेत्रका सवारी साधनलाई लक्षित गरी बसपार्क सञ्चालन भएको हो । बसपार्क क्षेत्रलाई रिफ्रेस सेन्टरकै रुपमा विकास गरिने भएको छ ।
काठमाडौंसम्मका रात्रीकालिन बस दैनिक पाँचदेखि दशवटासम्म छन् । जिल्लाको विभिन्न ग्रामिण भेगका लागि दैनिक तीन दर्जनबढि सवारी साधन चल्ने गरेका छन् । सो ठाउँमा निर्माण गरिएका सटरहरु टिकट काउन्टरका लागि प्रयोग गरिनेछन् । अपुग भएको खण्डमा नगरपालिकाले टिकट घर निर्माण गर्ने मेयर चौधरीले बताउनुभयो । पार्किङस्थल, गाडीधुने ठाउँ, यात्रु प्रतिक्षालय, चर्पी, बाथरुम जस्ता संरचनाहरु ब्यवस्थित ढंगले निर्माण गरिने उहाँले बताउनुभयो । बसपार्कसंगै मेयर्स पार्क निर्माण गर्ने योजना छ । मेयर्सपार्कभित्र डिजिटल नगर सुचनाबोर्ड, पानीका फोहोरा, आरामदायी र मनोरम वातावरणसमेत निर्माण गरिने मेयर चौधरीले जानकारी दिनुभयो । बसपार्क सञ्चालनले दुर्घटनाको जोखिम न्यूनिकरण गर्नुका साथै बसपार्क ब्यवस्थित हुने विश्वास लिइएको छ ।

सदरमुकाम गाईघाटमा सवारी साधनको चाँप र दुर्घटना न्यूनिकरणलाई मध्येनजर गर्दै नयाँ वसपार्क सञ्चालनमा ल्याएको हो । गाईघाटबाट लामो तथा छोटो दुरीका सयौं सवारी साधन सञ्चालनमा छन् । त्रियुगा पुल छेउको बसपार्कमा मात्र ब्यवस्थापन चुनौती रहेकोमा नयाँ बसपार्क सञ्चालनमा आएपछि सहज भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता (डिएसपी) बेदप्रसाद गौतमले बताउनुभयो । नयाँ बसपार्क सञ्चालन भएपछि स्थानीय निकै खुसी छन् ।
बसपार्क सञ्चालनप्रति उत्साहित सवारी चालक तथा यातायात ब्यवसायीहरुले पार्किङ तथा गाडी धुने ठाउँ, खाना, खाजा खाने ठाउँको ब्यवस्थापनमा भने छिटो ध्यान पुर्याउन स्थानीयहरुले आग्रह गरेका छन् । यी कुराहरुको ब्यवस्था भएमात्र यातायात सेवा प्रभावकारी हुने सवारी चालकहरुको भनाई रहेको छ ।