
पूर्णपुष्टि, ११ जेष्ठ ।
उदयपुरमा साकेला उभौली सुरु भएको छ । जिल्लाको सदरमुकाम गाईघाट साकेला थान लगायत बिभिन्न स्थानमा सिकारी पुजा सहित साकेलाको औपचारिक सुभारम्भ भएको हो । यो पर्व बिषेश गरी किरात समुदायहरुले मनाउने गर्छ । बिषेशगरी पूर्वमा वसोवास भएको किरात समुदायहरुले भुमि पुर्खाको पुजाआजा सहित साकेला मनाउँने गर्छ । उदयपुरको गाईघट, कटारी, बेलका रामपु र चौदण्डीगढी बेल्टारमा बिहिबार सिकार पुजा गर्दै उभौली साकेलाको स्वागत गरेको हो । गाईघाट स्थित त्रियुगा नगरपालिकामा यो पटक पनि साकेला उभौलीलाई भव्य र सभ्य रुपमा मनाईने आयोजकले जनाएको छ ।
११, १२ र १३ वडा कमिटी अध्यक्ष सर्वधन राईका अनुसार सबै प्रारम्भीक कमिटीहरुलाई तालिका बनाएर साकेला नाचबारे जानकारी गराईसकेको जनाए । बिहिबार आआफ्नै थानमा सिकारी पुजा आजा गरी साकेलाको सुभारम्भ गरिएको अध्यक्ष राईको भनाई छ । यस्तै चुहाडेमा पनि सिकारी पुजाको साथमा साकेलाको भव्य सुरुवात गरिएको छ । त्रियुगा नगरपालिका वडा नं ११ सहित १६ ओटै वडाहरुमा साकेला नाचगानको कार्यक्रम तयार भएको छ । १ देखी १६ वटा वडा सम्म साकेला नाचको तालिका सार्वजानिक गरिएको छ । साकेला बर्षमा दुई पटक मनाईछ । मंसिरे पूर्णिमामा उद्यौली र बैशाखे पूर्णिमामा उभौली मनाईने गरिन्छ ।
उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि पुजा गरिन्छ,यस चाडमा सुनुवार र राईहरू साकेला सखेवा शिली नाच्छन भने लिम्बु र याख्खाहरू च्याब्रुङ नाच नाच्दै प्रकृतिलाई पुजा गर्दछन । किराँतीहरूको यो पर्व पृथ्वीमा कृषियुग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।
उभौली चाडमा किरात खम्बु (राई) हरु आफ्नो जातीय पहिरन (भेषभुषा) मा सजिएर साकेला (साकेन्वा) सखेवा सिली नाच्छन् । कालो कोट, दौरा (सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई शिलिको इसारा गर्दै नाच्छन् । हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ । स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन् । गोलाकार घेरामा रहेर नाचिने साकेला शिली अहिले सबै जातीका युवायुवतीको पनि सहभागिता बढ्दो छ ।
उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ । अन्नबाली लगाउने समयमा मनाइने चाड उभौली बालीनालीमा रोगव्याधि नलागोस्, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ ।
दिन लामो हुन थालेको दिन अर्थात् पूणिर्मा देखि यो चाड सुरू हुन्छ । खुला आकाशमुनि संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला साकेन्वा नाचिन्छ । बालकेदखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला साकेन्वा नृत्यले यो आदिवासी जातिको सामूहिक भावना प्रदर्शन गरेको पाइन्छ।
हात(खुट्टाको चाल हाउभाउद्वारा पङ्क्तिबद्ध रूपमा जीव(जनावरको नक्कल गरी ढोल(झ्याम्टाको तालमा नाचिने सामूहिक नृत्य नै साकेला साकेन्वा हो। किराँत खम्बु राई हरूले साकेला साकेन्वा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।