
पूर्णपुष्टि, बैशाख २४ । उदयपुरमा विभिन्न मुद्धाका फरार ६ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना भएका ६ फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा क्रमस त्रियुगा नगरपालिका–३, भुल्के का २३ बर्षीय मो.कलाम मोदिन, त्रियुगा–१२ का २७ बर्षीय मिथुन चौधरी, त्रियुगा–१२ का पशुपती चौधरी, त्रियुगा–४ का होम बहादुर मगर, त्रियुगा–७ का ४० बर्षीय केशर बहादुर राई र त्रियुगा–३ मोतिगडा का ६४ बर्षीय एक पूरुष रहेका छन् । जिल्ला अदालत उदयपुरले कलाम मोदिनलाई चोरी मुद्धामा ११ महिना ४ दिन कैद र दश हजार जरिवाना तोकेको थियो । मिथुन चौधरीलाई कुटपिट मुद्धामा पाँच हजार जरीवाना तोकेको थियो । यस्तै पशुपति चौधरीलाई कुटपिट मुद्धामा रु.पाँच हजार जरिवाना तोकेको थियो ।
होम बहादुर मगरलाई लागुऔषध मुद्धामा एक बर्ष ,नौ महिना सोह्र दिन कैद र एक लाख जरीवाना तोकेको थियो । केशर बहादुर राईलाई बैंकिङ कसुर मुद्धामा ७ दिन कैद र पाँच लाख जरीवाना तोकेको थियो । ६४ बर्षीय पूरुषलाई लागुऔषध मुद्धामा दश महिना चार दिन कैद र पाँच हजार जरीवाना तोकेको थियो । फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले बिभिन्न स्थानमा लुकिछीपी बसेको अवस्थामा पक्राउ गरी उनिहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाएको छ ।
