
पूर्णपुष्टि, वैशाख २६ गते ।
उदयपुर जिल्लामा सञ्चालित कालोपत्रेको काममा नेपाली काँग्रेसले बाधा सृजना गरेको छ । स्थानीय तहको चुनाव नजिकिएसँगै दलहरुको चुनावी अभियान तीव्र रुपमा चलिरहेको छ । त्रियुगा नगरपालिकामा आचारसंहिता लागू भए अघि नै सम्झौताहरुको कामहरुमा समेत नेपाली काँग्रेसले प्रहरी लगाएर अवरोध गर्ने गरेको हो । त्रियुगा नगरपालिकाद्वारा बोलपत्र आव्हानको सूचना २०७८ असार २४ गते तीन वटा टेण्डरको सूचना एकै पटक निकालेको देखिन्छ । टेण्डर प्रक्रियामा परफेक्ट कन्ट्रक्सन इमाडोल ललितपुरले पाएको देखिन्छ ।
त्रियुगा नगरपालिका वडा नं. १२ स्थित डिएमगेट लक्ष्मीपुर सडक कालोपत्रे निर्माण कार्यको लागि ३९ लाख ६२ हजार ४८५ रुपैया, वडा नं. ११ पिपल चोकदेखि गाईघाट दिक्तेल सडक बरुवा पुलसम्मको सडक मर्मतको लागि ५१ लाख ६४ हजार १० रुपैया र वडा नं. १० राधाकृष्ण मन्दिर हुँदै जिल्ला अस्पताल गेटसम्मको सडक कालोपत्रे निर्माण कार्यको लागि २९ लाख ५८ हजार ४५७ रुपैयामा टेण्डर परेको बोलपत्र स्वीकृत गर्ने आशयको सूचनामा देखिन्छ । आशय पत्रमा सूचना प्रकाशन भएपछि तीन वटै टेण्डरको २०७८ कार्तिक ३ गते सम्झौता भई कार्यदेश दिएको डिएमगेट लक्ष्मीपुरसम्म सडक कालोपत्रे निर्माण कार्यमा नेपाली काँग्रेसले निर्वाचन आचार संहिता विपरित भएको भन्दै प्रहरी लगाएर अवरोध गरेको छ ।
निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (क), दफा ६ (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य नयाँ कार्यक्रम गर्न, नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्था ऐनमा प्रष्ट छ । निर्वाचन आचारसंहिता २०७८ चैत्र २५ गतेदेखि लागू भएपनि सो भन्दा अगाडीको आयोजनाहरु निर्माणमा काँग्रेसले अवरोध गरेको छ ।
त्रियुगा नगरपालिका वडा नं. १२ स्थित डिएमगेट लक्ष्मीपुर सडक कालोपत्रे निर्माण कार्य, वडा नं. ११ पिपल चोकदेखि गाईघाट दिक्तेल सडक बरुवा पुलसम्मको सडक मर्मत र वडा नं. १० राधाकृष्ण मन्दिर हुँदै जिल्ला अस्पताल गेटसम्मको सडक कालोपत्रे निर्माण कार्यमा काँग्रेसले अवरोध गरेको छ । डिएमगेट लक्ष्मीपुर सडक कालोपत्रे निर्माण कार्यमा काँग्रेसले प्रहरी लगाएर शुक्रबार र आइतबार अवरोध गरेको छ । प्रहरीले विना पुर्जी सडक कालोपत्रे निर्माणको काममा अवरोध गरेको परफेक्ट कन्ट्रक्सनका प्रतिनिधि गयानन्द चौधरीले जानकारी दिए ।
शुक्रबार पिचको काम भईरहेकोमा प्रहरी लगाएर अवरोध गरेपछि शनिबार त्रियुगा नगरपालिकाको समन्वयमा इन्जिनियर निर्मल चौधरी सहितको टोली कार्यक्षेत्रमै रहेका काम शुरु गरेपनि आइतबार दुई जना प्रहरीले लोडरको चावी खोसेपछि पिचको काम अवरुद्ध भएको जनाएको छ । प्रहरीले नै काम रोक्छस कि पक्राउ गरेर प्रहरी कार्यालय पुर्याउ भन्दै लोडरको चावी खोसेको स्थानीहरुले जनाएको छ । स्थानीयहरुका अनुसार प्रहरीले काम रोक्न पुर्जी दिएर काम रोक्नु पर्नेमा उल्टै काम गर्ने मजदुरहरुलाई धम्काएको बताए ।
स्थानीयहरुका अनुसार विकास निर्माणको काममा अवरोध खडा गर्नु निन्दनीय छ । जो सुकै होस् विकास निर्माणको काम रोक्नु भनेको विकास विरोधी भएको स्थानीयहरुले बताए । आचारसंहिता लागू हुनु अगाडीको काममा जिल्ला प्रशासन कार्यालय उदयपुर र मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्सेले यी कामहरु रोक्न कुनै लिखित पत्र नै नदेखिए पछि यो काम कस्ले रोकेको हो ? प्रश्न उब्जिएको छ । किन प्रहरीले विकास निर्माणको काम हुँदै गर्दा लोडर अपरेटर र मजदुरलाई जथाभावी बोलेको दुव्र्यवहार गरेको प्रति सवैको ध्यान जान जरुरी रहेको एक स्थानीयले बताए ।
जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा डिएसपी सन्तोष आचार्यले जिल्ला प्रशासन कार्यालयले रोक्न भनेपछि काम रोक्न लगाएको बताए ।
यता प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले जिल्ला प्रशासन कार्यालय उदयपुरले निर्वाचन आचारसंहिता लागू भएको भन्दा अघिको कुनै पनि काम गर्नमा रोक नलगाएको बताए । डिएमगेट लक्ष्मीपुर सडक कालोपत्रे निर्माण कार्यको बारेमा जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि नआएकोले हामीले रोक्न कसैलाई नभनेको प्रजिअ यादवले जनाएको छ ।
यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटका सूचना अधिकारी देवराज भट्टराईले त्रियुगा नगरपालिकाबाट भईरहेको कामहरुको बारेमा उजुरी नपरेको बताए । डिएमगेट लक्ष्मीपुर सडक कालोपत्रे निर्माण कार्य, राधाकृष्ण अस्पताल सडक कालोपत्रे निर्माण कार्य र पिपलचोक देखि गाईघाट दिक्तेल सडक बरुवा पुलसम्मको निर्माण कार्य रोक्न हामीले कसैलाई पत्रचार नगरेको सूचना अधिकारी भट्टराईले बताए । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनका प्रचार प्रसार समिति संयोजक किरण राईलाई यस विषयमा सम्पर्क गर्दा नेपाली काँग्रेस हारको संघारमा पुगेको र आचार संहिता लागू हुनु अघि कै योजनाहरुमा भईरहेको कामको श्रेय निवर्तमान मेयर तथा हालका मेयरका उम्मेदबार बलदेव चौधरीलाई जाने भन्दै योजनाहरु रोकेको आरोप लगाए ।
नेकपा एमाले त्रियुगा नगर चुनाव प्रचार प्रसार कमिटि संयोजक महेश रोक्काले आफ्नो पार्टीले त्रियुगा नगरपालिकामा भईरहेको कुनै पनि विकास निर्माणको कार्यमा अवरोध नपुर्याएको बताए । आचार संहिता उलंघन भए नभएको तथा उजुरी बारे मलाई नै जिम्मेबारी दिएकोले हाम्रो पार्टीले कहि कतै उजुरी नगरेको बताए ।
यस्तै नेपाली काँग्रेसका क्षेत्रिय सभापति सरोज बस्नेतलाई सडक कालोपत्रे निर्माण कार्यमा रोक लगाएको बारेमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन् ।
डिएमगेट लक्ष्मीपुर सडक कालोपत्रे निर्माण कार्य, राधाकृष्ण जिल्ला अस्पताल सडक कालोपत्रे निर्माण कार्य र पिपलचोक देखि गाईघाट दिक्तेल सडक बरुवा पुलसम्मको मर्मत कार्यको लागि ठेक्काको समय अवधि सकिएपनि म्याद थपको लागि निवेदन परेको नगरपालिकाले जनाएको छ ।

