
पूर्णपुष्टि, साउन १७ । उदयपुरमा दुईवटा साइकल एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। साईकल दुर्घटनामा परी जिल्लाको त्रियुगा नगरपालिका–५ देउरी निवासी २५ वर्षीय विनोद बिष्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चपागाईका अनुसार बुधबार दिउँसो साढे ४ बजेको समयमा त्रियुगा नगरपालिका–३ लच्का स्थितमा गाईघाटबाट जलजलेतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको दुई साइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी बाहिरी चोटपटक नलागेको तर अचेत अवस्थामा रहेका बिष्टलाई उपचारका लागि पहिले जिल्ला अस्पताल उदयपुर लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर न्युरो अस्पताल रिफर गरिएको थियो। उनको उपचारकै क्रममा राति ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
अर्को साइकल चालक १७ वर्षीय दिनेश कार्कीको दाहिने हातको कुहिनामा सामान्य चोट लागेको छ। उदयपुरगढी गाउँपालिका–८ नेपालटार घर भई हाल त्रियुगा नगरपालिका–३ लच्का स्थित मामाको घरमा बस्दै आएका कार्कीलाई दुवै साइकलसहित अस्थायी प्रहरी पोष्ट बसपार्कले नियन्त्रणमा लिएको छ।
मृतक बिष्टको शव राति १० बजे जिल्ला अस्पताल उदयपुरमा ल्याइएको प्रहरीले जनाएको छ।
