
पूर्णपुष्टि, भाद्र २४ । उदयपुर जिल्लामा हजारौं राष्ट्रिय परिचयपत्त्र वितरण नभई थन्किएका छन्। जिल्ला प्रशासन कार्यालय उदयपुरको तथ्यांक अनुसार ३६,८०० भन्दा बढी परिचयपत्र अझै पनि कार्यालयमा थन्किएर रहेका छन्।
उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले दिएको जानकारी अनुसार हालसम्म केवल ७,०२८ जनाले मात्र आफ्नो परिचयपत्र बुझेका छन्। घुम्ती टोली र जिल्ला प्रशासन कार्यालय मार्फत परिचयपत्रको विवरण दर्ता गराइएको थियो।
राष्ट्रिय परिचयपत्र विभागका कर्मचारी जीवन फुँयालका अनुसार २०८० बैशाखसम्म लिएको विवरण छापिएर आएको छ। कार्यालयले सम्बन्धित व्यक्तिहरूको मोबाइल नम्बरमा सन्देश पठाए पनि धेरैजना परिचयपत्र लिन नआएको जनाएको छ। यसको कारणमा परिचयपत्रको महत्व नबुझ्नु, मोबाइल नम्बर परिवर्तन हुनु, सम्बन्धित व्यक्तिको मृत्यु हुनु, देश बाहिर रहनु वा सन्देश नहेर्नु जस्ता कुराहरू हुन सक्ने फुँयालले बताए।
सहायक प्रजिअ रेग्मीले परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्ति नै उपस्थित हुनुपर्ने र फिंगरप्रिन्ट दिनुपर्ने बताए। एउटै घरका अन्य सदस्यलाई पनि परिचयपत्र दिन नमिल्ने प्रशासनले जनाएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार भविष्यमा यो परिचयपत्र सामाजिक सुरक्षा भत्ता, बैंक खाता खोल्न, स्वास्थ्य बिमा, स्थायी खाता नम्बर लिन र जग्गा खरिद-बिक्री जस्ता विभिन्न सेवाहरूका लागि अनिवार्य हुनेछ। हाल राहदानी बनाउनका लागि यो परिचयपत्र अनिवार्य गरिएको छ।
