Monday, June 22News That Matters

उदयपुरमा ७० संक्रमित थपिँदा, हाल सम्मकै धेरै ४७९ संक्रमित निको, मृत्यु शुन्य

पूर्णपुष्टि, जेष्ठ २८

उदयपुरमा पछिल्लो २४ घण्टामा ७० जना कोरोना संक्रमित थपिएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २९५ जनाको परिक्षणमा पछिल्लो समयमा जिल्लाको ३ नगरपालिका बेलका, त्रियुगा र चौदण्डीगढीका ३८ महिला र ३२ पुरुषमा संक्रमण देखिएको हो । सँधै उच्च संक्रमण फेला पर्ने त्रियुगा नगरपालिकामा सबै भन्दा कम ७ जना संक्रमित फेला परेको पाइएको छ । सबै भन्दा बढी बेलका नगरपालिकामा ३६ जना र चौदण्डीगढीमा २७ जना संक्रमित फेला परेको हो ।

यो सँगै जिल्लामा कोरोना संत्रमितको कुल संख्या १ हजार ६८७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या जिल्लामा ६६६ रहेको छ ।

पछिल्लो समय जिल्लामा हाल सम्मकै सबै भन्दा बढी संक्रमितहरुले कोरोना जितेको छ । पछिल्लो २४ घण्टा ४७९ जनाले कोरोना पराजित गरी घर फर्किएको छ । कोरोना जित्नेहरुमा होम आईसोलेसनमा रहेकाहरु धेरै रहेको स्वास्थ्य कार्यालय उदयपरले जनाएको छ । कार्यालय तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा मृत्युको संख्या शुन्य रहेको छ ।