
पूर्णपुष्टि, १६ जेष्ठ ।
सरकारले आगामी आर्थिक बर्षको लागि उदयपुरलाई ३ अर्ब ९० करोड ७३ लाख बजेट बिनियोजन गरेको छ । जिल्लाको ४ गाउँपालिका र ४ नगरपालिका गरी झण्डै ४ अर्वको हाराहारीमा बजेट पठाएको हो । सबैभन्दा बढी त्रियुगा नगरपालिकामा १ अर्व २ करोड ५ लाख बजेट विनियोजन भएको छ भने लिम्चुङबुङमा सबैभन्दा कम २२ करोड ५४ लाख बजेट बिनियोजन भएको छ । यता नगरपालिका मध्य सभै भन्दा कम बेलका नगरपालिकामा ४८ करोड २९ लाख बजेट विनियोजन भएको छ । त्रियुगामा बजेट बढेर आएको छ भने बेलकामा बजेट घटेर आएको छ ।

जिल्लामा उक्त बजेट चालु तर्फ ३ अर्व २८ करोड १९ लाख र पुँजीगत प्रकृति तर्फ ६२ करोड ५४ लाख गरी ३ अर्व ९० करोड ७३ लाख बजेट विनियोजन भएको हो । नगरपालिका तर्फ २ अर्ब ५७ करोड ७३ लाख र गाउँपालिका तर्फ १ अर्ब ३३ करोड विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आवमा गाउँपालिका तर्फको बजेट घटेर आएको छ । गाउँपालिका मध्ये सवैभन्दा बढी उदयपुरगढीमा बजेट विनियोजन भएको छ भने गाउँपालिकामा ४५ करोड १६ लाख बजेट बिनियोजन भएको हो ।
यस्तैगरी कटारी नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १० करोड ९७ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत ४२ करोड ७४ लाख, विशेष अनुदान तर्फ ७६ लाख र समपुरक अनुदान पुँजीगत १ करोड ७५ लाख गरी ५६ करोड २२ लाख बजेट विनियोजन भएको छ । उक्त पालिकामा चालु आर्थिक वर्षको भन्दा ३ करोड ७३ लाख बजेट बढी हो ।
चौदण्डीगढी नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १३ करोड ८० लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत ३६ करोड १५ लाख र विशेष अनुदान तर्फ ६२ लाख, समपुरक अनाुदान पुँजीगत ६० लाख गरी ५१ करोड १७ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा १ करोड ४२ लाख घटेर विनियोजन भएको छ ।
यस्तै रौतामाई गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत ९ करोड ४२ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत २७ करोड ३९ लाख, विशेष अनुदान तर्फ १ करोड र समपुरक अनुदान पुँजीगत तर्फ ६० करोड गरी ३८ करोड ४१ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा ३ करोड १८ लाख बजेट कम हो ।
यता ताप्ती गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत ७ करोड ५५ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत १७ करोड ९९ लाख, विशेष अनुदान तर्फ १ करोड ९ लाख र समपुरक अनुदान पुँजीगत तर्फ २६ करोड गरी २६ करोड ८९ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा २ करोड ३६ लाख कम बजेट विनियोजन गरेको छ ।
संघीय सरकारले बजेट पेश गरेसँगै प्रदेश र स्थानीय तहमा समेत सुत्रबद्ध रुपमा रकम हस्तान्तरण भएको छ । ७५३ वटै स्थानीय तहका लागि सरकारले चार किसिमका बजेट हस्तान्तरण गरेको छ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक गरी सरकारले पालिकाहरुलाई एकमुष्ट रकम पठाएको छ । अब स्थानीय तहरुले हस्तान्तरण भएर गएको रकम समेतलाई जोडेर आफ्नो छुट्टै बजेट ल्याउने छन् ।
