उदयपुर सिमेन्ट उद्योग व्यवस्थापनको प्रतिबद्धता : दीर्घकालिन लक्षमा दृढता https://wp.me/pbHTHl-cNb

उद्योग व्यवस्थापनको प्रतिबद्धता
आजको ३४ औं बार्षिक साधारण सभा तथा बार्षिकोत्सव का प्रमुख अतिथि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिब श्री अर्जुन पोखरेलज्यू, संचालक समितिका अध्यक्ष तथा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री चन्द्रकला पौडेलज्यू, संचालकज्यूहरु, आदरणीय शेयरधनी महानुभावहरु, क्रियाशिल युनियनका अध्यक्ष तथा सदस्यज्यूहरु, यस उद्योगका सम्पूर्ण कर्मचारी मित्रहरु, सम्पूर्ण उपस्थित आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, संचारकर्मी मित्रहरु ।

१) उद्योग चलायमान बनाउने हाम्रो प्रयास सफलता तर्फ उन्मुख:

यस आर्थिक बर्षको पहिलो ५ महिनामा सामान्य संचालन हुँदै आएको उद्योग २०७७ पौषमा बन्दप्राय: अबस्थामा पुगेको थियो, नयाँ महाप्रबन्धकको नियुक्ति संगै  उद्योग संचालनमा आएको व्यहोरा सभामा जानकारी गराउदछु । पछिल्लो समयमा कोइला, जिप्सम, आइरन ओर जस्ता कच्चापदार्थको स्टक व्यवस्थित गरिएको छ ।  निकै ठूलो संख्यामा अवकाश प्राप्त कर्मचारीहरु उपदान र औषधी उपचारको रकम नपाएर क्यूमा हुनुहुन्थ्यो, २०७७ असार देखि राजस्व, संचयकोष, नागरिक लगानी कोष, कर्मचारी बिमाको रकम जम्मा भएको थिएन, कार्तिक देखिको तलब ओटी बांकी थियो, बिद्युत महसुल तिरिएको थिएन अर्थात समग्रमा भन्नुपर्दा ६५ करोड भन्दा माथिको चालू दायित्त्व रहेको अबस्था थियो, ती सबै मध्ये बिद्युत महसुल बक्यौता बाहेक क्रमशः  नियमित गर्दै लगिएको छ ।
मूख्य मूख्य सुधारहरुमा उद्योग सूचारु रुपमा संचालन गर्न आवश्यक पर्ने कच्चापदार्थको नियमितता भइ उत्पादन बृद्वि भएको छ, सूसासन कायम भएको छ, कर्मचारीलाई तिर्नुपर्ने दायित्त्व मध्ये रु. १२ करोडको हाराहारीमा भुक्तानी भएको छ । र मिल, सिमेण्ट मिलको क्षमता बढेको छ, लोडसेडिङको बेला उद्योगको लाइन गाउँघर तिर गएको रोकिएको छ, क्लिंकर लगायत अन्य बस्तुहरुको भौतिक परीक्षण भएको छ, आन्तरिक लेखापरीक्षण गर्न शुरु गरिएको छ, संगठन तथा ब्यबस्थापन सर्भे गराई सोही अनुसार दरबन्दी कायम गरिएको छ, उद्योगको लीलाम भैसकेको  २ कठा १७  धुर जग्गा फिर्ता प्राप्त गर्न सफलता हात परेको छ, बेल्टारको रातोमाटोको टिओआर पास भैसकेको छ, वातावरणीय प्रभाव मुल्यांकनको काम भैरहेको छ, उद्योगको जग्गाको लगत सहित हालसाबिक भएको छ, सम्पूर्ण स्थिर सम्पत्तिको बिमा गरिएको छ, मागफाराम र जाँच पास पद्वतिलाई संस्थागत निर्णयको आधारमा गर्ने गरिएको छ, ५ करोड ४९ लाखमा पत्रु लिलाम बिक्रि सम्पन्न भएको छ, अधिकृत बिक्रेताहरु र इन्सेण्टिभ प्रणाली सहितको बिक्रि नीति लागू गरिएको छ ।
उद्योगको सम्पत्ति दायित्वको यथार्थ मूल्यांकन गरि आ. ब. २०७६/७७ सम्मको एनएफआरएस अन्तर्गत बनेको बित्तीय बिवरण बमोजिम खूद नोक्सानी  रु.  ५,१९,९१,५९,८७०.२९ र
आ. ब. २०७७/७८ को मात्रै  खुद नाेक्सानी ३०,६०,१७,२३१.६३ गरि लगभग खूद संचित नोक्सानी रु. ५ अरब ५० करोड ६० लाख   परिवर्तन भै रिजर्भ एण्ड सर्प्लसमा रु. ५६ लाख ३८ हजार कायम रहेको छ ।  यसले गर्दा नेटवर्थ सकारात्मक भएको छ । हिजोसम्मको बित्तीय बिबरण हेरेर कमर्सियल बैकले ऋण दिन सक्ने अबस्था थिएन, अब कमसेकम उपयुक्त परियोजनामा बैकहरुले लोन दिन सक्ने वातावरण बनेको छ । २०७७ माघ पछिको राजस्वमा कुनै बक्यौता छैन, त्यस अघिको राजस्व बक्यौता पनि क्रमश: घटाउदै गैरहेका छौं ।

२)  मूल रुपमा बित्तीय बिबरणलाई असर पार्ने उद्योगका मूख्य मूख्य  खर्चहरु:

उद्योग २९ बर्ष पुरानो भयो, नियमित मर्मतसम्भार गर्न नसकेको कारणले मर्मतसम्भार खर्च अत्याधिक हुने गरेको अवस्थामा पछिल्लो समयमा रात्री सिफ्टमा समेत मर्मतसम्भार गर्ने, फाष्ट मुभिङ्ग स्पेयर पार्ट्सहरुको उचित ब्यवस्थापन गर्ने र क्लिन सेल, रमिल, कोल मिल लगायतको मर्मतसम्भारमा ध्यान दिने गरेकोले उत्पादनमा सकारात्मक प्रभाव परेको छ । गत बर्ष सम्म धेरै कोटेशनको माध्यमबाट खरिद हुने गरेको थियो, यो बर्षको पछिल्लो छ महिना देखि अधिकांश खरिद शिल्ड कोटेशन वा टेण्डर प्रक्रिया द्वारा मात्र खरिद गर्ने सिष्टम बसालिएको छ । कोइला, डिजेल लगायत अन्य कच्चापदार्थको भाउ दोब्बर सम्म भएकोले यसले पनि खर्च ह्वात्तै बढाएको छ । निजीको तुलनामा प्रति कर्मचारी खर्च पनि ४ गुना भन्दा बढी छ, संख्या पनि बढी छ, चाहिने ठाउँमा कर्मचारी नहुने, नचाहिने ठाउँमा कर्मचारी बढी हुने अबस्था र निजीमा एकजनाले गर्ने काम सरकारी भएकोले तीनजनाको दरबन्दी सृजना भएको कारणले पनि लागत बढी भएको सन्दर्भमा  संगठन तथा जनशक्ति सर्भे गराई कायम भएको ५३३ जनाको दरबन्दी भित्रै बाह्य श्रोत, करार, ज्यालादारी र स्थायी कर्मचारीको उपयोग गरि उद्योग संचालन गरिएको छ । उल्लिखित  सबै कारणले प्रति बोरा लागत बढी पर्न गएको हो । अहिले हामी लागत घटाउन सकिने ठाउँमा लागत घटाउने र उत्पादन तथा बिक्रि परिमाण बढाउने प्रयास गरि यस  बर्षको ३० करोड नोक्सानीलाई आगामी आ. ब. २०७८/७९ मा भरसक शुन्यमा झारी ब्रेक इभनमा पुर्याउने प्रयास गर्दैछौं ।

३) मूल्य स्थिरता र त्यसको बजारमा प्रभाव:

प्रस्तुत उद्योग पूर्ण सरकारी उद्योग हो, सरकारको दायित्व मूल्य सन्तुलन कायम गर्ने पनि हो, गैंडा छाप सिमेण्टको मूल्य वृद्धि हुनासाथ अन्यत्र पनि मूल्य वृद्धि भइ बजारमा सिमेण्ट महङ्गो हुन जान्छ, अन्ततोगत्वा उपभोक्तालाई असर पर्ने हो, त्यसैले पनि  डिजेल, कोइला लगायतको कच्चापदार्थको भाउ वृद्धि हुंदा पनि सिमेण्टको भाउ यथावत राखियो । सबैले बुझेको कुरो के हो भने थोरै मार्जिन राखेर धेरै परिणाम बेच्दा उद्योग नाफामा जान्छ, खर्चमा मितव्ययिता गर्न सक्दा पनि उद्योग नाफामा जान्छ भन्ने नै हो, यस अर्थमा पनि हामीले अत्यन्त मेहिनत गरेका छौं । अहिले उद्योगको आर्थिक अवस्था स्वस्थ उन्मुख छ, पूर्ण स्वस्थ हुन केही समय लाग्छ तर असंभव छैन ।

४) गुणस्तरमा अव्वल, गैंडाछाप सिमेण्ट:

गैंडा छाप सिमेण्ट बन्ने चुनढुंगाको एमजिओ १.५ प्रतिशत भन्दा कम छ, सिएओ ५२ प्रतिशत भन्दा बढी छ, रातोमाटोको आल्मुनिया १२ प्रतिशत भन्दा बढी छ, मूल कच्चापदार्थको गुणस्तर नै उत्कृष्ट भएकोले गैंडा छाप सिमेण्ट उत्कृष्ट  छ ।
उद्योगका कर्मचारीहरु अनुभवी हुनुहुन्छ, प्रयोगशालामा घण्टा घण्टामा २४ सै घण्टा जाँच हुन्छ, ल्याबले ठीक छ भनेपछि मात्रै सिमेण्ट लोड हुन्छ, त्यसैले अरु सिमेन्ट भन्दा गैंडा छाप सिमेन्ट गुणस्तरको रहेको छ । गैंडाछाप सिमेण्ट उच्च गुणस्तरको भएको कारणले यसले कमाएको साख कायम राख्दै हाल नेपालमा स्थापित ६१ वटा सिमेण्ट उद्योगका ब्राण्डहरु संग खरो प्रतिष्पर्धामा उत्रिनका लागि उत्पादन र बिक्रीमा नियमितता पहिलो चुनौती  हो भने लागत कम गरि बिक्रि मूल्य कम गरेर अरु निजी उद्योगको मूल्यलाई बढ्न नदिई आम उपभोक्ताको हक हितमा काम गर्नु दोस्रो चुनौती हो । यसका लागि बजारमा नियमित रुपमा गैंडाछाप सिमेन्ट पाइन्छ भन्ने विश्वास दिलाउन नियमित उत्पादन हुन जरुरी भएकोले त्यसतर्फ ब्यबस्थापनले ध्यान दिइरहेको छ ।

४) उद्योगले वातावरणमा पार्ने असर कम गर्न गरिरहेको प्रयास:

हामी वातावरणमा पर्ने नकारात्मक असर कम गर्न अत्यन्त  सचेत छौं । यसमा पछिल्लो समयमा तीनवटा च्याम्बर रहेको इपी जसले धुलो कलेक्सन गरेर रिसाइक्लिङ्ग गर्छ, एउटा च्याम्बर मात्र चल्ने गरेको कारणले क्वाटर र आसपासका क्षेत्रमा धुलोको समस्या थियो तर  हाम्रो  टीमले अर्को एउटा च्याम्बर पनि मर्मत गरेकोले अहिले जताततै धुलो उड्दैन, थोरै उड्ने धुलो र कोइलाको सामान्य धुवाँलाई चिम्नी मार्फत जंगलतिर छोडिएको कारणले यो समस्याको न्यूनीकरण भएको छ । जे जति परिणाममा धुलो उडेको छ, त्यसलाई पनि नियन्त्रण गर्न अर्को एउटा च्याम्बर बनाउन भारतबाट कन्सल्टेण्ट बोलाई अध्ययन गराईरहेका छौं । आगामी आर्थिक बर्षमा उद्योग मर्मतसम्भार गर्ने योजना छ, त्यो बेला त्यो च्याम्बर पनि बनाएपछि बाताबरणमा सुधार त हुन्छ नै, क्लिंकर बनाउन तयार पारेको धुलो प्रयोग भै उद्योगलाई फाईदा पनि हुन्छ ।
यसको साथै धुलो धुवाँबाट प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्यमा खर्च गर्न प्रति बोरा रु. २/५० को दरले बार्षिक करीब ५०/६० लाख शुल्क नगरपालिकालाई दिने गरिएको छ । उद्योगको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो बर्ष सायद पहिलो पल्ट रु. २५ लाख बराबरको प्रयोगशाला उपकरण र रु. १५ लाखको एम्बुलेन्स गरि उद्योगको नजिकको देउरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्न सफल भएका छौं, हाम्रो प्रयासमा साथ दिने सबैमा हार्दिक धन्यवाद पनि दिन चाहान्छु ।

५) उद्योगको  अल्पकालीन/मध्यमकालीन योजना:-

उद्योगको उत्पादन क्षमता दैनिक ८ सय मे. टन अर्थात् १६ हजार बोरा हो, तर बिगत बर्षहरुमा औषत २ सय ५० मे. टन अर्थात ५ हजार बोरा सम्म मात्रै उत्पादन हुने गरेको थियो, यसको मूल कारणमा उद्योग ब्रेकडाउनको समय बढी हुनाले गर्दा हो । अल्पकालीन योजना अन्तर्गत यो ब्रेकडाउन कम गर्न नियमित मर्मत संभारको ब्यवस्था गरि दैनिक ४ सय मे. टन उत्पादन पुर्याइएको छ र श्रावण देखि आज जेठ १३ गते सम्ममा २० लाख बोरा बिक्रि गर्न सफल भएका छौं । लक्ष्य अनुरुप उपलब्धि भैरहेको छ । मध्यमकालीन योजनामा मूख्य मूख्य मिल मेसिनरीहरु जस्तै: स्ट्याकर, रिक्लाइमरलाई अटोमेसन गर्ने, जिसिटी पम्पलाई मर्मत गरि चूस्त बनाउने, बेल्न्डिङ्ग साइलोमा ब्लोअर्सहरु फिटिङ्ग गर्ने, ग्यास एनालाइजर मर्मत गर्ने, नयाँ बर्नर खरिद गर्ने, कोल मिल र फ्यानहरुको अडिट गराउने, पुरानो पिएलसी अपग्रेडिङ्ग गरि स्काडा सिष्टम जडान गर्ने लगायतका कामहरु सम्पन्न गर्ने योजना रहेको छ भने मध्यमकालीन योजनामा क्याल्सनाइर प्रविधिको जडान गर्ने र बिज्ञको राय बमोजिम मेसिनहरु परिवर्तन गरि हालको दैनिक ८ सय मे.टन क्षमतामा थप ३ सय मे. टन थप गरी दैनिक उत्पादन क्षमता  ११०० मे.टन पुर्याउने लक्ष्य लिएको छ ।

६) उद्योगको दीर्घकालीन योजना:-
करीब ७ करोड ३५ लाख  मे. टन सिमेन्ट उत्पादन क्षमता भएको  उदयपुर जिल्लाको सिन्धाली स्थित आफ्नै खानीमा एउटै चट्टान ५ बर्ग किलोमीटर फैलिएको १०९ मिटर गहिरो अवस्थामा रहेको छ । यो चूनढुंगाको  Mgo(magnesium oxide) 2% भन्दा कम र   calcium-containing inorganic material (CaO) 52% भन्दा बढी रहेको यस खानीमा रहेको चूनढुंगा हालसम्म १२ प्रतिशत मात्रै उत्खनन भएको छ ।  तसर्थ, उद्योगको खानीलाई उपयोग गरि उदयपुर सिमेन्ट उद्योग लि., कर्मचारी, स्थानीय उदयपुरबासी, स्थानीय तथा प्रदेश सरकार र आम सर्वसाधारणको सहभागितामा पव्लिक प्राइभेट पार्टनरसिप योजना अन्तर्गत दैनिक ६ हजार मे. टन क्लिंकर उत्पादन गर्ने छुट्टै उद्योग स्थापना गरि संचालन गर्न त्रियुगा नगरपालिकाको नगरसभा र उद्योगको संचालक समितिले निर्णय गरि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अग्रिम कारबाहीको लागि पेस गरिसकेको छ । माननीय मन्त्रीज्यू अलिक ढिलो गरि पाएपनि हाम्रा योजनाहरु सुनाउदा अत्यन्त सकारात्मक हुनुहुन्छ, त्यसैले पनि हामी सफल हुन्छौं भन्ने हामीलाई लागेको छ ।
नयाँ उद्योगको स्थापनाको औचित्यको मूल आधार बजारको माग नै हो । यस अर्थमा बजार विश्लेषण गर्दा अहिलेसम्म पनि १४ वटा आफ्नै खानी नभएका सिमेण्ट उद्योगको लागि कच्चापदार्थको रुपमा क्लिंकर उपलब्ध हुनेछ, अधिकांश  उद्योगको खानी भएपनि ती खानीको चूनढुंगामा  MgO बढी भइ गुणस्तरीय सिमेन्ट उत्पादन गर्न समस्या भैरहेको छ, त्यस्ता उद्योगहरूले  कच्चापदार्थको रुपमा गुणस्तरीय क्लिंकर खरिद गरि कम गुणस्तरको क्लिंकर संग मिश्रण गर्ने भएकोले बजारको कमी हुने छैन । अर्को अहिले यस उद्योगले OPC सिमेन्ट मात्र उत्पादन गर्छ, मूलतः ठूला प्रोजेक्टहरुलाई आबश्यक पर्ने PPC सिमेण्ट उत्पादन गरि भाडा सस्तो पर्ने एक नंबर प्रदेश र मधेस प्रदेशमा योजनामा परेका प्रोजेक्टहरुमा सस्तो सिमेन्ट आपूर्ति गर्न सकिने छ । अर्को बिकल्पको रुपमा भारतको उत्तर प्रदेश र बिहार राज्यमा सिमेन्ट उद्योग नभएको र सबैभन्दा नजिकमा यो उद्योग पर्ने भएकोले क्लिंकर निकासीको त्यत्तिकै संभावना रहेको छ । यदि भारतमा निकासी गर्न सकियो भने ट्रेड ब्यालेन्समा यो उद्योगको निकै ठूलो योगदान रहन सक्छ । सबै सिमेन्ट उद्योगहरुले आ-आफ्नो क्षमता उपयोग गरि निकासी गर्न सक्ने संभावना त्यत्तिकै छ । आ. ब. २०७९/८० सम्ममा उपरोक्त बमोजिम उद्योग स्थापनाका लागि पूर्वाधार तथा शेयर संरचनाको टुङ्गो लगाइ लगानीको सुनिश्चितता सहितको नयाँ उद्योग स्थापनाको शुरुआत गरिसक्ने दीर्घकालीन लक्ष्य रहेको ब्यहोरा सम्मानित सभा समक्ष जानकारी गराउदछु ।
अन्तमा उपस्थित सबैलाई हार्दिक धन्यवाद सहित बिदा हुन चाहान्छु ।

                  गोपीकृष्ण न्यौपाने
                     महाप्रबन्धक             मिति: २०७९/०२/३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: