
पूर्णपुष्टि/ उदयपुर, जेठ ११ ।
उदयपुर–सुनसरी सीमामा ठूलो परिमाणमा गाँजा बरामद
उदयपुर र सुनसरीको सीमावर्ती क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा करिब ४७५ केजी गाँजा फेला परेको हो।
आज बिहान करिब ११ः४० बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुरको बेलका नगरपालिका–८ अन्तर्गत कोशी नदीपारि टप्पु क्षेत्रमा रहेको जंगलभित्र गाँजा लुकाइराखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
नेपाल विपद् व्यवस्थापन बेस चतरा सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतको कमाण्डमा ५ जना तथा नेपाल सुरक्षा बेस रामपुर उदयपुरबाट सशस्त्र प्रहरी निरीक्षक राज विक्रम खड्काको कमाण्डमा ५ जना डीएम टोलीसहित गरी १० जनाको संयुक्त टोली उक्त क्षेत्रमा पुगेको थियो।
टोलीले टप्पु क्षेत्रमा खोजतलास गर्ने क्रममा १६ बोरा प्रतिबन्धित लागूऔषध गाँजा फेला पारी आवश्यक कानुनी प्रक्रियाका लागि उदयपुरतर्फ ल्याइएको जनाएको छ। बरामद गाँजा तौल गर्दा करिब ४७५ केजी रहेको प्रहरीले जानकारी दिएको छ।
बरामद गाँजा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि इलाका प्रहरी कार्यालय चक्रघट्टी सुनसरीमा बुझाइएको बताइएको छ। प्रहरीले घटनास्थल आसपासका अन्य क्षेत्रमा समेत थप खोजी तथा निगरानी जारी राखेको जनाएको छ।
