
पूर्णपुष्टि/गाईघाट, जेठ १३ ।
चौधदेखि महिना तलब नपाएका उदयपुर सिमेन्ट उद्योग लिमिटेडका कर्मचारी तथा मजदुरहरूले उद्योगमा दैनिक धर्ना दिइरहेका छन् ।
रोकिएको तलब तथा सञ्चयकोष, नागरिक लगानी कोष र बीमा रकम तत्काल उपलब्ध गराउन माग गरेका उनीहरूले गत तीन दिनदेखि धर्ना दिइरहेका हुन् । पहिलो दिन एक घण्टा, दोस्रो दिन दुई घण्टा र आज तीन घण्टा धर्ना दिएका छन् । चारदिन अघि पत्रकार सम्मेलन आयोजना गरी प्रेस नोट जारी गर्दै माग पुरा नभए धर्ना लगायतका आन्दोलन गर्ने जनाएका थिए ।
सम्पूर्ण मजदुर संघर्ष समिति गठन गरी आन्दोलित बनेका छन् ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले २०७९ माघदेखि व्यावसायिक उत्पादन सुरु गरे पनि पछिल्ला तीन वर्षदेखि न्यून उत्पादन गर्दै आएको जनाएको छ। उद्योगको कमजोर व्यवस्थापनका कारण उद्योग डुब्दै गएको हो ।
उद्योगले कर्मचारी मजदुरहरूको १४ महिनाको तलब ज्याला हालसम्म भुक्तानी नगरेको उल्लेख गरिएको छ। त्यस्तै ४५ महिनादेखि तलबबाट कट्टा गरिएको सञ्चयकोष रकम र ३५ महिनादेखि कट्टा गरिएको नागरिक लगानी कोष रकम सम्बन्धित निकायमा जम्मा नगरिएको जनाइएको छ। तीन किस्तासम्मको बीमा प्रिमियम रकमसमेत उद्योगले उपलब्ध नगराएको मजदुरहरूको भनाइ छ।
समितिका अनुसार आर्थिक अभावका कारण मजदुरहरूको दैनिक जीवनयापन कठिन बन्दै गएको छ भने केही कर्मचारी मजदुर बिरामी अवस्थामा रहेका छन्। हालसम्म ८ जना कर्मचारी मजदुरको मृत्यु भइसकेको पनि प्रेस नोटमा उल्लेख छ।
त्यस्तै २०७८ सालदेखि अनिवार्य अवकाश पाएका १३२ जना कर्मचारी मजदुरहरूले पाउनुपर्ने सेवा–सुविधा अझै प्राप्त गर्न नसकेको गुनासो गरिएको छ। उद्योगमा कार्यरत मजदुरहरूले सम्बन्धित मन्त्रालयमा पटक–पटक ध्यानाकर्षण गराए पनि समस्या समाधानका लागि कुनै ठोस पहल नभएको समितिले जनाएको छ।
