
पूर्णपुष्टि, साउन २९ । मोरङको सीमा नाकाबाट दुई बंगलादेशी नागरिकलाई फिर्ता गरेको छ। मंगलबार दिउँसो उपचारको बहाना बनाएर नेपाल प्रवेश गर्न खोजेका यी व्यक्तिहरूलाई विराटनगर महानगरपालिका-१५ स्थित हुलास चोकमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो।
सशस्त्र प्रहरीका एक उच्च अधिकारीका अनुसार फिर्ता गरिएका व्यक्तिहरू ४९ वर्षीय एमडी रिएजुल कोरिम र ६३ वर्षीया एमएसटी जायद बेगम हुन्। उनीहरूलाई दिउँसो करिब १२:४५ बजे भारततर्फ फिर्ता पठाइएको जानकारी दिइएको छ।
बंगलादेशमा आन्दोलन चर्किएर प्रधानमन्त्री शेख हसिनाले समेत देश छाड्नुपरेको परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले सीमा सुरक्षामा कडाइ गरेको छ। यस परिस्थितिको सम्भावित असरलाई ध्यानमा राख्दै नेपाली सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाएका छन्।
