Friday, May 1News That Matters

कैलालीका केही सामुदायिक विद्यालयले लागु ग¥यो मूल्याङ्कन प्रणाली

पूर्णपुष्टि, साउन २९ ।  कैलाली जिल्लाका केही सामुदायिक विद्यालयहरूले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली लागू गरेका छन्। यस प्रणाली अन्तर्गत अब यी कक्षाहरूमा परम्परागत प्रश्नपत्र र परीक्षाको सट्टा निरन्तर मूल्याङ्कनका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिनेछ।

टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाले यस शैक्षिक वर्षदेखि यो प्रणाली कडाइका साथ लागू गरेका छन्। शिक्षा अधिकारीहरूका अनुसार साना बालबालिकाको क्षमताको मूल्याङ्कन छोटो समयको परीक्षाले मात्र गर्न नसकिने भएकाले यो प्रणाली अपनाइएको हो।

टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीका अनुसार, “अब हामीले ३ कक्षासम्म प्रश्नपत्र बनाउने, परीक्षा लिने काम गर्दैनौँ। निरन्तर मूल्याङ्कनका आधारमा उहाँहरूको नतिजा आउनेछ।” जोशीपुर गाउँपालिकाका शिक्षा अधिकृत सङ्ग्रामसिंह धामीले भने, “शैक्षिक सुधार र गुणस्तर वृद्धिमा ध्यान दिइरहेका छौँ। साना बालबालिकाको मूल्याङ्कन निरन्तर रूपमा हुनेछ।”

जानकी गाउँपालिकाले विद्यालयहरूलाई निरन्तर मूल्याङ्कनका लागि पुस्तिका उपलब्ध गराएको छ। शिक्षा अधिकृत धर्मानन्द कपाडीका अनुसार, पुस्तिकामा भएको मापदण्डअनुसार मूल्याङ्कन गरिनेछ र त्यसैका आधारमा अन्तिम नतिजा प्रकाशित हुनेछ। लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले यो प्रणालीले शिक्षकलाई पनि बढी जिम्मेवार बनाउने बताए।