Thursday, April 30News That Matters

कोशी प्रदेशसभा बैठक अनिश्चित, माओवादीको आपत्ति

पूर्णपुष्टि, साउन २९ । कोशी प्रदेशसभाको बैठक लामो समयदेखि अनिश्चित बनेको छ। गत असार ८ मा बजेट पारित भएपछि स्थगित गरिएको बैठक अझै बोलाइएको छैन। यसबीच नेकपा माओवादी केन्द्रले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले गैरजिम्मेवार ढंगले काम गरेको आरोप लगाएका छन्। उनका अनुसार प्राकृतिक विपत्ति, नीति कार्यक्रम र नयाँ बजेट कार्यान्वयन लगायतका विषयमा छलफल गर्न बैठक आवश्यक छ। माओवादी केन्द्रका सांसदहरूले प्रदेशसभा सरकारको छायाँमा परेको र दुई तिहाई बहुमतले थिचिएको बताएका छन्। उनीहरूले प्रदेश निजामती ऐन संशोधन विधेयक लगायत महत्वपूर्ण विधेयकहरू अलपत्र परेको जनाएका छन्।

केन्द्रमा समीकरण फेरबदल भएपछि माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ, तर समर्थन भने फिर्ता लिएको छैन। कांग्रेस अझै सरकारमा सहभागी हुन सकेको छैन। मन्त्रालय बाँडफाँटमा सहमति नजुटेका कारण कांग्रेसको प्रवेश रोकिएको बताइएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ पहिलो साताभित्र सरकार विस्तार गरेर प्रदेशसभा बैठक बोलाउने बताएका छन्। तर माओवादी केन्द्रले बिना कुनै बहाना तत्काल बैठक बोलाउन माग गरिरहेको छ।