
पूर्णपुष्टि, बैशाख १६ एसीसी मेन्स प्रिमियर कपको उपाधिका लागी नेपाल र युएईबिच प्रतिष्पर्धा हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बर्षाले प्रभावित सेमिफाईनल खेलमा कुवेतलाई पछि पार्दै नेपालले फाईनलमा स्थान बनाएको छ ।
वर्षाले प्रभावित बनेको सेमिफाईनल खेल ४२ ओभरमा खेलाईएको थियो । जसमा टस हार्दै पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाउँदै २८० रन बनाएको थियो भने कुवेतले डक्वर्थ लुइस सिस्टमको आधारमा २८२ रनको लक्ष्य पाएको थियो । २८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा बर्षा सुरु हुन थालेपछि खेल रद्द गर्नुपरेको थियो ।
मुलपानी मैदानमा ओमान र युएईबिच भएको सेमिफाईनल खेल पनि बर्षाका कारण डिएलएस मेथड गर्नु परेको थियो । जसमा यूएईले ओमानमाथि २ रनको जित निकाल्दै फाईनलमा स्थान बनाएको हो । पहिले ब्याटिङ गरेको युएईले ४ बल खेल्न बाँकी छदा अलआउट हुदैँ २३६ रन बनाएर ओमानलाई २३७ रनको लक्ष्य दिएको थियो । युएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाउदा खेल वर्षाले रोकिएको थियो । नेपाल र युएईबिचको फाईनल खेल सोमबार कीर्तिपुर मैदानमा हुने भएको छ । यो खेल जित्ने टिम एसिया कपमा छनोट हुनेछ । जसमा भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।
