
पूर्णपुष्टि, असार १८ । मोरङको उर्लाबारी नगरपालिका–६ स्थित उर्लाबारी–मधुमल्ला सडक खण्डमा सवारी दुर्घटनामा २७ वर्षीया सीता बोहोराको मृत्यु भएको छ। हिजो साँझ प्रदेश ०३–००१क १०९० नम्बरको टिफरले प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सीता बोहोरा र उनका ९ वर्षीय छोरा प्रशान्त बोहोरा घाइते भएका थिए।
घाइते दुबैलाई उपचारका लागि मंगलबारे अस्पताल लगिएकोमा सीता बोहोराको अस्पताल पुर्याउनासाथ मृत्यु भएको हो भने छोरा प्रशान्तलाई थप उपचारका लागि न्युरो अस्पताल, विराटनगर पठाइएको छ। ठक्कर दिने टिफर र चालक मोरङ मिक्लाजुङका लाल बहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ।
