
पूर्णपुष्टि, असार १८ । नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रमा सत्ता सहकार्य गर्ने सहमति बनेसँगै कोशी प्रदेश सरकारमा रहेको माओवादी केन्द्रको भविष्यबारे चासोको विषय बनेको छ।
हाल कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा माओवादी केन्द्रका तीन जना मन्त्री छन् : गणेशप्रसाद उप्रेती (भौतिक पूर्वाधार विकास), नारायण बुर्जा मगर (पर्यटन, वन तथा वातावरण), र राजेन्द्र कार्की (स्वास्थ्य) ।
एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कांग्रेस र एमालेबीचको प्रारम्भिक सहमति अनुसार कोशी प्रदेशमा मुख्यमन्त्री एमालेकै रहने बताए। माओवादी सरकारबाट बाहिरिने वा नरहने विषयमा केन्द्रको निर्देशन अनुसार निर्णय गरिने जानकारी दिए ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले केन्द्रमा परिवर्तन भएसँगै प्रदेशमा पनि सोही अनुसार अगाडि बढ्ने बताए। माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले पनि केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि सोही अनुसार अघि बढ्ने बताए । कोशी प्रदेशमा हालसम्म छैटौँ पटक सरकार गठन भइसकेको छ। केन्द्रमा सोमबार राति भएको सहमति अनुसार एमाले र कांग्रेसको सरकार बनेको खण्डमा उक्त सरकारलाई ६९ सांसदको समर्थन हुनेछ, जुन प्रदेशसभामा दुई तिहाइ बहुमत हो।
