
सुनिल राई, गाईघाट÷९ फागुन । उदयपुरको थरुहट रंगशाला गाईघाटमा आज सम्पन्न एन्फा महिला च्याम्पियनको उपाधि सशस्त्र प्रहरी क्लब (एपिएफ) ले जितेको छ । आजको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबलाई १ गोलको विरुद्ध २ गालले हराउँदै एपिएफले उपाधि चुमेको हो ।
खेलको ५४ औँ मिनेटमा जर्सी नं. १२ की गिता राणाले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिईन् भने ६८ औँ मिनेटमा जर्सी नं. ७ कि रेनुका नगरकोटीले गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यस्तै खेलको ७१ औँ मिनेटमा आर्मीकी जर्सी नम्बर ८ की जेनिफर राणाले गोल गरिन् । टिमको तर्फबाट यो मात्र एक गोल रह्यो । यस खेलको म्यान अफ द म्याच एपिएफ कि जर्सी नं. १२ कि गिता राणा बनिन् ।
उपाधि विजेता सशस्त्रले ७ लाख ५० हजार पुरस्कार हात पारेको छ भने उपविजेतामा चित्त बुझाउनु परेको आर्मीले ५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक सशस्त्रकी अन्जना राना मगर भइन । सर्वाधिक गोलकर्ता सशस्त्रकी रश्मी कुमारी घिसिङ भईन । सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी दिपा शाही भइन । उनीहरूले ५० हजार नगद पुरस्कार प्राप्त गरे ।
आज खेल हेर्न मैदानमा दर्शकको भिड खचाखच भएको थियो । प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा रहेको छ । प्रतियोगिता फागुन १ गतेबाट सञ्चालन भएको थियो । प्रतियोगितामा नेपालका १० शीर्ष महिला फुटबल टिमहरूको सहभागिता थियो । एन्फा महासचिव किरण राईका अनुसार नेपालमै यो किसिमको खेल प्रतिस्पर्धा पहिलो हो ।
