
पूर्णपुष्टि, जेठ २३ गते ।
नक्कली बिरामी बनेर एम्बुलेन्समा लागुऔषध ओसार पसार गर्ने तीन जना दाङमा पक्राउ परेका छन् ।
बाँकेको नेपालगञ्जबाट दाङको तुल्सीपुर आउँदै गरेको तुल्सीपुर उद्योग वाणिज्य संघको रा १ च ३८९ नम्बरको एम्बुलेन्समा खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।
तुल्सीपुर उपमहानगरपालिका–१३ दमारगाउँ अस्थायी प्रहरी पोष्टले चेक जाँच गर्दा एम्बुलेन्समा रहेका दाङ घोराही उपमहानगरपालिका–१५ बरालाका २३ वर्षीय शंकर पुन नक्कली बिरामी बनेर १६ ग्राम ४ सय ५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
उक्त एम्बुलेन्समा सवार तुल्सीपुर उपमहानगरपालिका– ५ की १८ वर्षीया दिपा थापालाई सोधपुछ गर्दा शंकर नक्कली बिरामी बनेर आएको जानकारी पाएपछि उनको शरीर खानतलासी गर्दा पाइन्टको गोजीमा कालो प्लाष्टिकका दुइ वटा पोका बनाइ लुकाइराखेको अवस्थामा खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
पुन, थापा र एम्बुलेन्स चालक दाङको दंगीशरणका तिलक विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
