
पूर्णपुष्टि, साउन ३१ । उदयपुरको कटारी नगरपालिकामा १ करोड ७६ लाख ५८ हजार रुपैयाँ खर्चको विषयमा विवाद चर्किएको छ। उपमेयर गीता खड्काले बिहीबार पत्रकार सम्मेलन गरी मेयर राजेश चन्द्र श्रेष्ठले टिप्पणी आदेशको भरमा उक्त रकम मनोमानी ढंगले खर्च गरेको आरोप लगाएकी छन्।
उपमेयर खड्काका अनुसार मेयर श्रेष्ठले नगरसभालाई छलेर टिप्पणी आदेशबाट खर्च गरेको रकम अनुमोदन गराउन खोजेका थिए। “हाम्रो विवाद भनेको एक करोड ७६ लाख पैसा नियमित रुपमा सिस्टमबाट चल्नुपर्ने हो, अनियमितता नहोस् र सही ठाउँमा प्रयोग होस् भन्ने हो,” उपमेयर खड्काले भनिन्। उनले यो रकम संघीय सरकारबाट प्राप्त खानी तथा वन रोयल्टी बापतको राजश्व रहेको जानकारी दिइन्। साथै उनले मेयर र प्रमुख प्रशासकीय अधिकृतले गरेको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताइन्।
यसअघि बुधबार मेयर श्रेष्ठले पत्रकार सम्मेलन गरी साउन २७ मा सम्पन्न तेह्रौं नगर सभापछि उत्पन्न विवादबारे आफ्नो धारणा राखेका थिए। मेयरले नगरसभामा उपमेयरले नै बजेट प्रस्तुत गरेको र सर्वसम्मतिले पारित भएको दाबी गरेका थिए। उपमेयर खड्काले आफूहरू कुनै दलगत स्वार्थमा नरहेको र समग्र नगरवासीको हितका लागि जोडिएको बताइन्। “बहुमतको दम्भ देखाएका छैनौं, बहुमत र पार्टीगत रुपमा कुनै कुरा नभएको र सत्य, तथ्यमा आधारित भएका छौं,” उनले भनिन्। पत्रकार सम्मेलनमा कटारीका विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूको पनि उपस्थिति रहेको थियो। उपमेयरले मेयर र प्रमुख प्रशासकीय अधिकृतले पत्रकारलाई समेत झुक्याएको आरोप लगाइन्।
