
पूर्णपुष्टि, भाद्र २९ । उदयपुरको कटारी नगरपालिकामा चलिरहेको युनिक रिप्रिजेन्ट डान्स च्याम्पियन २०८१ को मेघा अडिसन राउण्ड शुक्रबार सम्पन्न भएको छ। युनिक डी थ्री डान्स स्टुडियोद्वारा आयोजित यस अडिसनमा ३२ जना प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरे।
प्रतिस्पर्धामा २७ जना प्रतियोगीहरू अर्को चरणका लागि छनोट भएका छन्। स्टुडियोका संचालक तथा नृत्य निर्देशक एल एक्स वस्यालका अनुसार आगामी राउण्डबाट १५ जना अघि बढ्नेछन्।
कटारी र गाईघाट क्षेत्रका प्रतियोगीहरूले यस अडिसनमा भाग लिएका थिए। निर्णायक मण्डलमा नृत्य निर्देशक कृष्चिङ्ग लामा र राजन रसाईली पनि सामेल थिए। प्रतियोगिताको विजेताले नगद रु. ५०,००० र एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनेछन्। स्टुडियोले प्रतियोगीहरूको प्रस्तुतिलाई सामाजिक सञ्जालमा पनि प्रसारण गर्ने गरेको छ।
नृत्य निर्देशक वस्यालले यस प्रतियोगिताको उद्देश्य प्रतिभाहरूलाई विश्वभर चिनाउनु रहेको बताए। कार्यक्रमको उद्घोषण आर जे सञ्जु राउतले गरिरहेका छन्।
