Thursday, June 18News That Matters

कोशी प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध: मुख्यमन्त्री कार्की

पूर्णपुष्टि, भाद्र २९ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल अधिकार रक्षाका लागि संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी भएको बताउनुभएको छ। बाल दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उहाँले बालबालिकाको अधिकार रक्षा गर्दै उनीहरूको प्रतिभा प्रस्फुटन गराउनुपर्नेमा जोड दिनुभयो।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार बालबालिकालाई देशको सबल भविष्यको आधार मान्दै बाल अधिकार संरक्षणमा समर्पित रहेको उल्लेख गर्नुभयो। उहाँले नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको र यसले बाल बचाउ, संरक्षण, विकास र सहभागिता जस्ता विषयहरू समेटेको बताउनुभयो।

प्रदेश सरकारले हरेक वर्ष बालबालिकाका लागि विभिन्न योजना र कार्यक्रमहरू गर्दै आएको र यो कार्य निरन्तर रहने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गर्नुभयो। साथै, कोशी प्रदेशका दुर्गम क्षेत्रका बालबालिकाहरू अनलाइन कक्षाबाट वञ्चित हुनु परेको अवस्थालाई सम्बोधन गर्न प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको जानकारी दिनुभयो। “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ यस वर्षको बाल दिवस मनाइँदैछ।