Tuesday, April 21News That Matters

कटारीमा ३०औं विश्व आदिवासी दिवस मनाइँदै

पूर्णपुष्टि, साउन २५ ।

उदयपुरको कटारी नगरपालिकामा आज (शुक्रबार) अगष्ट ९ तारिख ३०औं विश्व आदिवासी दिवस धुमधामका साथ मनाइने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारीले यस अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

परिषदका अध्यक्ष डिकबहादुर श्रेष्ठका अनुसार दिवसको अवसरमा विभिन्न जातजातिहरुको झाँकीसहित नगर परिक्रमा गरिनेछ। त्यसपछि महासंघको हलमा शुभकामना आदान-प्रदान कार्यक्रम हुनेछ। यस वर्षको दिवस “संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर” र “प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर” भन्ने नाराका साथ मनाइँदैछ।

परिषदका सचिव राजिव तामाङले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिनुभयो। आयोजकले आदिवासी जनजातिहरुलाई आफ्नो हक अधिकारका बारेमा सचेत हुन कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। उदयपुरको ताप्ली गाउँपालिका र चौदण्डी नगरपालिकामा पनि यस अवसरमा कार्यक्रमहरु आयोजना गरिने जनाइएको छ। विश्व आदिवासी दिवस सन् १९९३ देखि प्रत्येक वर्ष अगष्ट ९ मा मनाइँदै आएको छ। यस दिवसले आदिवासी जनजातिहरुको अधिकार र पहिचानको महत्त्वलाई उजागर गर्दछ।