
पूर्णपुष्टि, साउन २५ । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रूपमा शपथ लिएका छन्।
युनुसले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा भेदभावविरोधी विद्यार्थी आन्दोलनका दुई नेता नासिद इस्लाम र आसिफ महमूद तथा पूर्व ब्रिगेडियर जनरल एम सखावत हुसेन समावेश छन्।
सरकारी रोजगारीमा रहेको कोटाविरुद्ध विद्यार्थीहरूले थालेको आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले २१ गते राजीनामा दिएर देश छोडेपछि, सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए। विद्यार्थी नेताहरूले सेनाको नेतृत्वमा सरकार स्वीकार नगर्ने बताउँदै युनुसको नाम अगाडि सारेका थिए। राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सर्वपक्षीय छलफलपछि संसद भंग गर्नुका साथै युनुसलाई अन्तरिम सरकार बनाउने जिम्मेवारी दिएका थिए।
