Friday, February 7News That Matters

कटारी-घुर्मी सडकको धुलोले स्थानीयलाई सास्ती

पूर्णपुष्टि, पुष १७ ।  उदयपुरको सिद्धिचरण राजमार्गमा पर्ने कटारी-घुर्मी सडक खण्डको धुलोले स्थानीयवासीको दैनिक जीवन प्रभावित भएको छ । कटारी नगरपालिकाको ४६ किलोमिटर सडक खण्ड जीर्ण अवस्थामा रहेको र हिउँदमा धुलोको कारण वडा नम्बर ४, ८, ११ र १४ का बासिन्दाहरू विशेष प्रभावित बनेका छन् ।

सडक किनारमा घर भएकी कटारी-४ की दुर्गा परियार धुलोका कारण घरको ढोका बन्द गरेरै बस्न बाध्य छिन् । उनका अनुसार खाना पकाउने र खाने ठाउँमा समेत धुलो पस्ने गरेको छ, जसका कारण उनी माइग्रेनकी बिरामी बनेकी छिन् । स्थानीय कृषकहरूले लगाएको बालीनाली र घाँसपात समेत धुलोले प्रभावित बनाएको छ । यस क्षेत्रका दर्जनौं विद्यालयका विद्यार्थीहरूलाई पनि आवतजावतमा समस्या भएको छ । मावि मरुवाका कक्षा १० का विद्यार्थी प्रदिप परियारले विद्यालय जाँदा धुलो खाएर हिँड्नुपर्ने बाध्यता रहेको बताए ।

कटारी-घुर्मी सडक कार्यालयका सूचना अधिकारी मनोज कुमार मण्डलका अनुसार सडकमा पानी छर्कने कार्यका लागि बजेट अभाव रहेको छ । लहान सडक कार्यालयबाट प्राप्त वार्षिक २० लाख रुपैयाँ उपकरण र कर्मचारी परिचालनका लागि पनि अपुग रहेको उनले बताए । सडक विभागले भर्खरै मात्र यस सडक खण्डको स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्यांकन तयार पार्दैछ । दुई दशकदेखि स्थानीयले वर्षेनी धुलोको समस्या भोग्दै आएका छन्। यस सडक खण्डबाट ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जाने यात्रुहरूलाई समेत धुलोका कारण समस्या भएको छ ।