Friday, May 1News That Matters

कटारी नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘कटारी ज्ञानमाला’ अनिवार्य लागु

पूर्णपुष्टि, साउन २२ । उदयपुरको कटारी नगरपालिकाले स्थानीय पाठ्यक्रम अन्तर्गतको पाठ्यपुस्तक ‘कटारी ज्ञानमाला’ प्रकाशन गरी कक्षा १ देखि ५ सम्म अनिवार्य लागू गरेको छ। नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठका अनुसार दुई वर्षको प्रयासपछि यो शैक्षिक सत्रदेखि सबै विद्यालयमा पाठ्यक्रम लागू गरिएको हो।

पाठ्यपुस्तकमा नगरपालिकाको धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्र, विभिन्न जातजातिको पहिचान र भूगोल समेटिएको छ। उपमेयर गिता खड्काले स्थानीय पाठ्यपुस्तकसँगै आगामी दिनमा प्राविधिक विषयमा जोड दिइने बताइन्। शिक्षा शाखा प्रमुख संजु दाहालका अनुसार यस वर्ष कक्षा ५ सम्मको पाठ्यक्रम तयार पारिएको छ र यसलाई क्रमशः कक्षा ८ सम्म विस्तार गरिनेछ। नगरपालिकाले विद्यार्थीहरूको तथ्यांक अनुसार पाठ्यपुस्तक छापेर पठाएको छ।

शिक्षकहरूले स्थानीय पाठ्यक्रम पढाउन पाउनुमा गर्व महसुस गरेको बताए । तर, यस वर्षका लागि केही ढिला भएको उल्लेख गर्दै आगामी शैक्षिक सत्रदेखि समयमै पाठ्यपुस्तक पठाउन सुझाव दिए। सोही अवसरमा कटारी नगरपालिकाले २०८० मा लिएको नगरस्तरीय कक्षा ८ को परीक्षामा उत्कृष्ट अंक ल्याएका सामुदायिक र संस्थागत तर्फका छात्रछात्रालाई पुरस्कृत गरेको छ। जसमा सामुदायिक तर्फ सरस्वती मावि भोर्लेका अस्मिता दर्जी परियार र जनप्रेमी मावि रिस्कूका प्रतीक खत्रीले उत्कृष्ट स्थान हासिल गरे भने संस्थागत तर्पm सगरमाथा ईङ्गलिस वोर्डिङ्ग स्कूलका अर्पना राजभण्डारी र फ्युचर ईङ्गलिस वोर्डिङ्ग स्कूलका रोसव गिरीले उत्कृष्ट स्थान हासिल गरे ।  प्रत्येक विजेतालाई १५,००० रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ। उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई पनि सम्मान गरिएको थियो।