Friday, May 1News That Matters

पत्रपत्रिका वर्गीकरणमा राजनीतिक पूर्वाग्रह रहेको प्रेस सेन्टरको आरोप

पूर्णपुष्टि, साउन २२ ।  प्रेस सेन्टर नेपालले प्रेस काउन्सिल नेपालले गरेको आर्थिक वर्ष २०७८/७९ को पत्रपत्रिका वर्गीकरण तथा मूल्यांकनको प्रारम्भिक नतिजाप्रति गम्भीर आपत्ति जनाएको छ। प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै यो वर्गीकरण पूर्वाग्रही र तथ्यहीन रहेको आरोप लगाएका छन्।

विज्ञप्तिमा उल्लेख भए अनुसार, विगतमा क र ख वर्गमा परेका र निरन्तर सोही मापदण्ड अनुसार प्रकाशित जनपक्षीय पत्रिकाहरूलाई छानी-छानी तल्लो वर्गमा झारिएको छ। साथै, उस्तै मापदण्ड भएका अन्य पत्रिकाहरूलाई माथिल्लो वर्गमा राखिएको दाबी गरिएको छ।

प्रेस सेन्टर नेपालले यो वर्गीकरण राजनीतिक पूर्वाग्रहप्रेरित रहेको ठहर गरेको छ। विज्ञप्तिमा भनिएको छ, “साना लगानीका मिडिया र स्वरोजगारमूलक मिडियाहरूलाई टिकाउन मुख्य आधार बनेको सरकारद्वारा प्रदान गरिने लोककल्याणकारी विज्ञापनको लागि बनाइएको मापदण्ड पूरा गरेका पत्रपत्रिकाहरूमाथि गरिएको व्यवहार राजनीतिक पूर्वाग्रहप्रेरित देखिएको छ।”

प्रेस सेन्टर नेपालले प्रेस काउन्सिललाई वर्गीकरणको नतिजा पुनरावलोकन गर्न र न्यायोचित तथा तथ्यसंगत अन्तिम नतिजा प्रकाशन गर्न माग गरेको छ। अन्यथा पत्रकार र स्वरोजगारमूलक साना लगानीका पत्रपत्रिकाका पक्षमा कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि दिइएको छ।