Friday, May 1News That Matters

कटारी नगर अस्पताल लगातार दोस्रो वर्ष उत्कृष्ट

पूर्णपुष्टि, भाद्र २९ ।  उदयपुरको कटारी नगर अस्पतालले लगातार दोस्रो वर्ष पनि उत्कृष्टता कायम राखेको छ। नेपाल सरकारको न्यूनतम सेवा मापदण्ड अनुगमन टोलीले गरेको मूल्यांकनमा अस्पतालले यस वर्ष पनि १०० मा ८३ अंक प्राप्त गरेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका रविकुमार साहका अनुसार गत वर्ष पनि अस्पतालले ८३ अंक नै प्राप्त गरी देशभरका ३३ स्थानीय तह अन्तर्गतका अस्पतालमध्ये उत्कृष्ट बनेको थियो। यो वर्ष पनि सोही अंक कायम राख्न सफल भएको छ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. गौरब साहले अस्पतालले गुणस्तरीय सेवा दिँदै आएको र थप प्रगति गरेको बताए। उनले कोशी प्रदेश सरकार र संघीय सरकारले १५ शय्याको यस अस्पताललाई ५० शय्या सहितको प्रदेश अस्पताल बनाउन अनुमति दिइसकेको जानकारी दिए।

कटारी नगरपालिकाकी उपमेयर गिता खड्काले अस्पताललाई नगरले सधैं सहयोग गर्ने प्रतिबद्धता जनाइन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाले पनि अस्पताललाई आवश्यक सहयोग गरिरहने बताए। अस्पताल व्यवस्थापन समितिकी उपाध्यक्ष चन्द्रमाया खड्काले भविष्यमा अझै सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिन्।