Thursday, April 30News That Matters

उदयपुरको बेल्टार बजारमा चोरीको घटना बढ्दो

पूर्णपुष्टि, भाद्र २९ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा चोरीका घटनाहरू बढ्दै गएको छ । लामो समयदेखि मोटरसाइकल चोरीका घटनाहरू हुँदै आएकोमा पछिल्लो समय गरगहना चोरी गर्नेदेखि घरभित्रै पसेर नगद एवम् सुनचाँदी चोर्नेसम्मका गतिविधिहरू बढेका छन्।

हालै, बजारमा समान किन्न आएकी एक महिलाको गलामा लगाएको सुन बीच बजारबाटै चोरी भएको छ। त्यसैगरी, नगरको वडा नम्बर ५ बेल्हामा एकै रातमा ७ घरमा लुटपाटको प्रयास भएको छ, जसमध्ये दीपनारायण चौधरीको घरबाट सुनचाँदी र नगद चोरी भएको स्थानीय शिक्षक भास्कर चौधरीले जानकारी दिएका छन्।

यस्ता घटनाहरूले स्थानीयहरूमा त्रास फैलिएको छ। उनीहरूले प्रहरी प्रशासनलाई रातको समयमा सुरक्षा व्यवस्था कडा बनाउन र राति १० बजेपछि हिँड्नेहरूलाई निगरानी गर्न आग्रह गरेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन चापागाईंले चाडपर्व लक्षित चोरीका घटनाहरू बढ्नुले सुरक्षा चुनौती थपिएको स्वीकार गरेका छन्। उनले यस्ता घटनाहरूलाई नियन्त्रण गर्न प्रहरी संयन्त्र परिचालन हुने बताएका छन्।

स्थानीयहरूले चाडपर्व नजिकिँदै जाँदा दिनप्रतिदिन बजार र आसपासका क्षेत्रमा चोरीका घटनाहरू बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। उनीहरूले प्रहरी प्रशासनलाई यस्ता घटनाहरू रोक्न तत्काल कदम चाल्न आग्रह गरेका छन्।