Monday, June 29News That Matters

कतारले कामदारको न्यूनतम पारिश्रमिक तोक्यो

पूर्णपुष्टि, भदौ १५

कतारले कामदारको न्यूनतम ज्याला तोकेको छ । कतारको श्रम तथा सामाजिक विकास मन्त्रालयले हिजो श्रमिकको न्यूनतम ज्याला कम्तिमा एक हजार कतारी रियाल तोकेको हो ।

मन्त्रालयले न्यूनतम पारिश्रमिकसँगै ५ सय कतारी रियाल बस्नका लागि र ३ सय रियाल खानका लागि तोकेको संचारमाध्यमहरुले जनाएको छ ।

यो नियम यसअघि करार सम्झौतामा उल्लेख गरे पनि दिने गरिएको थिएन । तर अब भने कतार जाने श्रमिकले खान, बस्न र मासिक तलबसहित न्यूनतम १८ सय कतारी रियाल पाउने छन् ।

त्यस्तै कतार सरकारले श्रमिकले काम परिवर्तन गर्दा रोजगारदाताको अनुमति लिनुपर्ने नियम पनि खारेज गरेको छ । अब श्रमिकले चाहेमा सूचना दिएर करार अवधिभन्दा अघि नै पनि बिना अवरोध रोजगारदाता परिवर्तन गर्न सक्ने छन् । श्रमिकले आफूले काम गरेको अवधि अनुसार एक महिना वा दुई महिनाको पूर्व जानकारी दिनु पर्छ ।

कतार सरकारले जारी गरेको न्यूनतम पारिश्रमको नियम कतारको राजपत्रमा प्रकाशित भएको ६ महिनापछि कार्यान्वयनमा आउने जनाईएको छ ।

कतार सरकारको यो निर्णयको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले पनि स्वागत गरेको छ । कतार सरकारको यो निर्णय श्रमिकहरुका लागि कोशेढुङ्गा सावित हुने आइएलओले जनाएको छ ।