
पूर्णपुष्टि, बैशाख ३१ । महोत्तरीमा कथित उपल्लो जातसँगै बसेर भोज खाएको भन्दै एक युवकमाथि कुटपिट भएको छ । गौशाला नगरपालिका वडा नं १ मा रहेको दलित समुदायका १७ बर्षीय अविनाश पासवानमाथि कुटपिट भएको हो ।
टेन्टको काम गर्दै आएका अविनाशलाई गत वैशाख २६ गते स्थानीय सुरत यादवको आमाको शुद्धी भोजमा स्थानिय सँग बसेर भोज खाएको निहुँमा ४० बर्षीय रामविनेक यादवले कुटपिट गरेका हुन् । तल्लो जात भएर उपल्लो जातसँग बसेर भोज खाएको भन्दै कुटपिट गरेको पिडितले बताएका छन् ।
घटनापश्चात पीडितले गत शनिबार जातीय छुवाछूत, भेदभाव र हिंसा तथा कुटपिटविरुद्धको जाहेरी इलाका प्रहरी कार्यालय गौशालामा दिएका छन् । उनको जाहेरी पश्चात कुटपिट गर्ने रामविनेकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।
