Sunday, May 3News That Matters

करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्णपुष्टि, साउन १९ । उदयपुरको सदरमुकाम गाईघाटमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शनिबार त्रियुगा उद्योग वाणिज्य संघले गाईघाटका व्यापारी तथा व्यवसायीहरुलाई लक्षित गरी करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक विधेयक २०८१ ले गरेको केही विशेष छुट तथा सहुलियतहरु, ऐन नियममा भएका सामान्य परिवर्तन, परिवर्तित कर बिजकको ढाँचा, संशोधित सामान्य प्रावधान र अग्रिम करकट्टी विषय सम्बन्धि अन्तरक्रिया गरिएको थियो। संघको कार्यालयमा आयोजित कार्यक्रममा करदाता सेवा कार्यालय गाईघाटका नायव सुब्बा देवन राई र प्राविधिक नायव सुब्बा रेख मगरले व्यवसायीहरुसँग अन्तरक्रिया गरेका थिए। कार्यक्रममा मतिराज एसोसिएट्सले प्राविधिक सहयोग प्रदान गरेको थियो।संघका अध्यक्ष रसाईलीले नयाँ आर्थिक वर्षसँगै आउने नीतिगत परिवर्तनबारे व्यवसायीहरुलाई अद्यावधिक गराउन यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताए। उनले भने, ‘प्रत्येक वर्ष नयाँ आर्थिक वर्षसँगै राज्यले धेरै नीतिगत परिवर्तन गर्ने हुँदा यस्ता अन्तरक्रियाले व्यवसायीहरुलाई अपडेट हुन र नयाँ नियम तथा प्रावधानबारे जानकारी पाउन मद्दत गर्छ।’