
२४ असार, २०८३ । उदयपुर
उदयपुरको बेलका नगरपालिका–९ रामपुरमा विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । विद्युतको पोलमा चढेर मिटर बक्सको तार जोड्ने क्रममा प्राधिकरणको रामपुर क्षेत्रमा कार्यरत करिब ४० वर्षीय मिलन राईलाईको करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार मंगलबार बिहान करिब १०ः३० बजे रामपुर नगर अस्पताल नजिकै रहेको विद्युत पोलमा चडेर तार जोड्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनी करिब ४ मिटर माथिबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल रामपुर नगर अस्पताल पुर्याई सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
