
पूर्णपुष्टि, कार्तिक १५
कर छली गरेर ल्याएको औषधिसहित सङ्खुवासभाबाट दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चीनको सिचुङ घर भइ हाल सङ्खुवासभामा रुद्राक्ष व्यापार गर्न आएका साङदोङ र उछिनग्लिन नाम गरेका दुई चिनियाँ नागरिकलाई भन्सार छलीको औषधिसहित प्रहरीले पक्राउ गरको हो ।
उहाँका अनुसार, खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको बुद्ध होटल एन्ड लजमा भन्सार राजस्व छली ल्याएको औषधिसहित उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । ‘पीबीओजी’ लेखेको कृषि बालीमा प्रयोग हुने औषधि लुकाइ राखेको भन्ने सूचना पाएपछि विमानस्थलका सुरक्षा गार्ड र सदरमुकाम खाँदबारीबाट खटिएको संयुक्त टोलीले लजमा छापा मारेको थियो ।
त्यो होटलको कोठा नं. ५०२ मा स्टोर गरी राखेको ३६ बोरा (आठ सय केजी) बराबरको ‘पीबीओजी’ औषधि भेटिएको प्रहरीले जनाएको छ ।
बरामद भएको औषधीसहित ती दुई चिनियाँ नागरिकलाई कारबाहीका लागि राजस्व अनुन्धान कार्यालय इटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सुभेश अधिकारीले बताउनुभयो ।
