
पूर्णपुष्टि, साउन २४ । कोशी प्रदेशमा कांग्रेसले मन्त्री छनोट गर्न नसकेको एक महिना बितिसकेको छ। केन्द्रमा गठबन्धन सरकार बनेको र अन्य प्रदेशमा मन्त्री पठाइसकेको अवस्थामा कोशी प्रदेशमा भने कांग्रेसको आन्तरिक किचलोका कारण मन्त्री छनोट प्रक्रिया अलमलमा परेको छ।
गत असार १७ गतेको सहमति अनुसार केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन सरकार गठन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असार ३१ गते २१ जना मन्त्री नियुक्त गरे, जसमा कांग्रेसका तर्फबाट १० जना मन्त्रीले एकैपटक शपथग्रहण गरेका थिए। तर केन्द्रमा मन्त्री पठाउन फटाफट निर्णय गरेको कांग्रेस कोशी प्रदेशमा भने मन्त्री पठाउनै सकेको छैन। कांग्रेसले मन्त्री पठाउन नसक्नुको प्रमुख कारण पार्टीको आन्तरिक शक्ति सङ्घर्ष रहेको जनाइएको छ।
कांग्रेसका केही नेताहरूले पार्टी सभापति र केन्द्रीय नेताहरूले प्रदेशमा कम चासो दिएका कारण सरकारमा पठाउने नाम दिन ढिला भएको दाबी गरेका छन्। यसैबीच, माओवादी केन्द्र गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो। कांग्रेसभित्र विभिन्न गुटहरू बीच मन्त्री पदको भागबण्डामा सहमति जुट्न नसकेको देखिन्छ। डा. शेखर कोइराला र शेरबहादुर देउवा समूह बीच भागबण्डा नमिलेको कारण समस्या भएको बताइएको छ।
केही नेताहरूले मन्त्री बनाउने विषय ढिलो भएकोमा चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार लामो समयसम्म मन्त्री बनाउन नसक्दा पार्टीको छवि खराब हुनसक्छ।कांग्रेसको केन्द्रीय समितिको बैठक बुधबारदेखि सुरु भएको छ। केही सांसदहरूले केन्द्रीय समितिको बैठक सकिएलगत्तै कोशी सरकारमा सहभागी हुने मन्त्रीको नाम आउने दाबी गरेका छन्।
यसैबीच, केही स्रोतहरूले दलको नेता फेरबदल हुनसक्ने सम्भावना पनि रहेको बताएका छन्। कोशी प्रदेशमा हाल ४ वटा मन्त्रालय मन्त्रीविहीन रहेका छन्। ९ वटा मन्त्रालय रहेको प्रदेशमा मुख्यमन्त्री र ४ मन्त्रालय एमालेको भागमा छ भने ४ मन्त्रालय कांग्रेसको भागमा रहने सहमति भइसकेको बताइएको छ। कांग्रेसको आन्तरिक किचलो र भागबण्डाको विवाद चाँडै समाधान नभए कोशी प्रदेशमा सरकार गठन प्रक्रिया अझै लम्बिने देखिन्छ।
