
पूर्णपुष्टि, असार ३ । काठमाडौं महानगरपालिका भित्रको हलमा सोमबार देखी भारतीय फिल्मको प्रदर्शन रोकिने भएको छ । आदिपुरुष फिल्ममा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्य भारतमा सच्याउन मेयर बालेन्द्र शाहले दिएको तिन दिने अल्टिमेटम सकिएपनि उक्त संवाद नसच्याएपछि शाहले हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएको हो ।
मेयर शाहको निर्देशनमा नगरप्रहरीले आईतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । काठमाडौं महानगरका ३२ वडाभित्र रहेको १७ फिल्म हल भोली देखी भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय भएको र यसका लागि नगर प्रहरी आजैदेखि खट्ने मेयर बालेन्द्र शाहको सचिवालयले जानकारी दिए ।
आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवाद सच्याएको छैन भने फिल्मका गीतकार तथा डाईलोग लेखक मनोज मुन्तशीरले सन् १९०४ सम्म नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको बताएका थिए । मेयर शाहले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि पत्र पठाउँदै उक्त आपत्तिजनक संवाद नसच्चाए नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न आग्रह गर्दै पत्र पठाएका थिए ।
