
पूर्णपुष्टि, असार ३ ।
उदयपुरको बेलका नगरपालिका –७ स्थित दुधकोशी सामुदायिक वन उपभोक्ता समुहमा ठुलो मात्रामा काटिएका अबैध रुखको चिरान तथा गोलिका काठ बन कार्यालयले बरामद गरिसक्दा थप लुकाइएका काठ फेला परेका छन् । घाटगद्दीबाट रातारात गायव पारिएका ३४ टुन काठ हिजो स्थानीयले फेला पारेका हुन् ।
घाटगद्दी गरिराखेको ठाउँबाट उत्तरतर्फ करिब तीनसय मिटर खोल्सीमा हरियो सेउलाले छोपेको अवस्थामा फेला परेको स्थानीय उपभोक्ताहरुले बताए । वन कर्मचारी टोलीले उक्त काठ ट्याक्टरमा लोड गरी डिभिजन वन कार्यालय, उदयपुर आज ल्याउदै गरेको जनाएको छ ।
समुहका अध्यक्ष मणीराज राई, सचिव दिनेश राईको संलग्नतामा तस्करीको उद्देश्यले ठुलो मात्रामा काठ काटिएको कुरामा अनुसन्धान चलिरहेको वन कार्यालयले जनाएको छ । अदालतबाट उनीहरुलाई पक्राउ पुर्जी जारी भएपनि हालसम्म पक्राउ हुन सकेको छैन । स्थानीयले फरार रहेका भनिएका आरोपित पदाधिकारीहरु गाउँ आसपासमै लुकिछिपी बस्दै आएको बताएका छन् । वन कार्यालयले पक्राउका लागि सुरक्षा निकायलाई पत्रचार गरी सहयोग मागेको जनाइएको छ । केही वन कर्मचारीसमेतको संलग्नताको आशंका गरेका स्थानीयमा आरोपितहरु ऋझै पक्राउ नपर्दा थप आशंका उब्जिएको छ ।
