Monday, May 11News That Matters

उदयपुरको छाम्लिङमा हाते प्रबिधिबाट अर्गानिक चिया उत्पादन शुरु

बिजय राई
पूर्णपुष्टि,असार ३ । उदयपुरमा पहिलो पटक अर्गानिक चिया उत्पादन सुरु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर– १५ छाम्लिङका स्थानीय मानबहादुर खपाङ्गीले निजी लगानीमा हाते प्रबिधिको प्रयोग गरी प्याकिङ नाम ‘अर्थोडक्स’ रहेको चिया बजारमा ल्याएका हुन् ।

अर्थोडक्सका उत्पादक हिमाली चिया उद्योगका सञ्चालक मगर उदयपुरका पहिलो व्यवसायी चिया उद्योगी हुन् । उनले एक दशकपहिला २०६९ सालमा जिल्लालाई चियाबाट आत्मनिर्भर बनाउने उद्देश्यले हिमाली मुना अर्थोडक्स चिया उत्पादनका लागि करिब १० रोपनी क्षेत्रफल रहेको आफ्नै जमिनमा चिया खेती थालेका थिए । ‘२०६९ सालतिर चियाखेतीको अनुभव गर्न सुकौराका एक स्थानीय कृषकबाट करिव १२ सय बोट चियाँको विरुवा किनेर लगे’ मगरले भने, ‘तर, त्यो १२ सय बोट चियाबाट लाभ भने लिन सकिन । अनुभव बटुल्दैमा सकियो ।’ आफूले चिया खेतीको सुरुवातमा खरिद गरेको १२ सय बोट चियाबाट कुनै आर्थिक लाभ लिन नसकेको बताउछन् ।

बिना अनुभव र ज्ञान ठूलो लगानी खेर गएपछि मगरले घरेलु तथा साना उधोग कार्यालय, उदयपुरसँगको समन्वयमा चिया खेतीसम्बन्धि १० दिने तालिम लिन इलाम पुगेका थिए । त्यही इलामबाट सिकेर आएपछि मगर फेरि निरन्तर व्यवसायिक चियाको खेतीमा होमिए । फलत उनी सफल भए र केही वर्षयता उनी चियामा जिल्लालाई निर्भर बनाउने सक्ने अवस्थामा पुगेका छन् ।

पर्याप्त तालिम र अनुभवपछि ‘हिमाली मुना चिया उद्योग’को स्थापना गरेका मगरले हाल मासिक २५ देखि ३० किलोसम्म चिया उत्पादन गर्न सकिने बताउछन् । जुन उत्पादनको क्रममा केही स्थानीय युवाहरुलाई समेत रोजगारीको अवसर पु¥याउने लक्ष्य रहेको मगर बताउछन् । ५० ग्राम तौल रहेको सो चियाको बजार मूल्य रु. ५० तोकिएको छ । जसलाई १२ महिना अर्थात वर्षदिनसम्म प्रयोग गर्न सकिने प्याकिङ पेपरमा उल्लेख छ । अर्थोडक्स चियाको प्रयोगले ग्याष्ट्रिक, उच्च रक्तचाँप र हृदयरोगलगायतको स्वास्थ्य समस्याका बिरामीहरुको लागि समेत फलदायी हुने बताइएको छ । छाम्लीङमा उत्पादित चिया स्थानीय उपभोक्तालाई पहिलो प्राथमिकता दिइएको सञ्चालक मगरले बताए । स्थानीय खपतले पूर्णता पाएपछि जिल्लाको अन्य बजारमा समेत पठाइने बताइएको छ ।

असार ३ गतेदेखि आधिकारिक रुपमा ‘हिमाली मुना चिया उद्योग’द्धारा उत्पादित अर्थोडक्स चिया बजारमा ल्याइएको हो । उद्घाटनको पहिलो दिनमै ७ किलोग्राम विक्री भएको कृषक मगरले बताए । सुरुवाती दिनमै बजारमा अर्थोडक्स चियाको राम्रो माग देखिएकाले आफू व्यवसायिक चियाखेतीप्रति थप उत्साहित भएका उनको भनाई छ । पछिल्लो समय जिल्लाको बिभिन्न बिकट क्षेत्रमा जंगली जनावरले खाद्य बालीहरु नष्ट हुने समस्या बढीरहेको बेला चियाखेती उपयुक्त बिकल्प समेत हुनसक्ने स्थानीयले बताएका छन् । छाम्लीङ क्षेत्रमा हुने अत्यधिक बाँदर आतंकबाट जोगिन पनि चियाखेती आफ्नो रोजाईको खेती परेको उनले सुनाए ।