
पूर्णपुष्टि, भदौ १७
काठमाण्डौ उपत्यकाको विभिन्न २३ ठाउँमा ट्राफिक डमी राखिएको छ । हेर्दा ठ्याक्कै ट्राफिक जस्तै देखिने डमी कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन राखिएको हो ।

काठमाण्डौमा १७, ललितपुरमा ३ र भक्तपुरमा ३ वटा सूचनामूलक बोर्डहरु बोकेर उभिएको ट्राफिक डमी राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कोरोना भाइरसबाट बच्न काठमाण्डौ उपत्यकाका विभिन्न ६० चोकमा सूचना बोर्ड राखिएको छ । बोर्डमा सामाजिक दूरी कायम गर्न, मास्क लगाएर हिड्न, अनावश्यक हिँडडुल नगर्न, स्वास्थ्यका मापदण्ड पालना गर्न, ट्राफिक नियमको पालना गर्न लगायत आग्रह गरिएको छ ।
ट्राफिक प्रहरीले अहिले विभिन्न ४५ ठाउँमा संयुक्त चेक प्वाइन्ट राखेको छ । १४ सय ४५ ट्राफिक प्रहरीलाई काठमाण्डौका विभिन्न एक सय ५२ ठाउँमा खटाइएको महाशाखाले जनाएको छ ।
यसैबीच, निषेधाज्ञाको २ हप्ताको अवधिमा ११ हजार सात सय ७३ गाडीलाई होल्ड गरिएको छ । गुड्न नपाइने गाडीहरुलाई एक देखि तीन दिनसम्म होल्ड गरेर छाड्ने गरिएको महाशाखाले जनाएको छ ।
