Sunday, May 31News That Matters

कारले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु, राजमार्ग अवरुद्ध

पूर्णपुष्टि, मंसिर १९
भारतीय नम्बरको कारले ठक्कर दिँदा एक जना पैदल यात्रीको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ को बंकमा आज बिहान साढे ६ बजेतिर डेल १ जेड सी ४७५४ नम्बरको कारको ठक्करबाट पैदल यात्रीको ज्यान गएको हो । ज्यान गुमाउनेमा सोही स्थानका ७२ वर्षीय तारा नाथ रहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कारको ठक्करबाट नाथको घटनास्थलमै मृत्युु भएको हो । उनी बिहान मर्निङ वाकका लागि राजमार्गमा निस्किएका थिए ।
दुर्घटनापछि कार चालक फरार छन् । उनी कञ्चनपुरकै स्थानीय भएको बुझिएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बिहानैदेखि राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध हुँदा विभिन्न ठाउँबाट कञ्चनपुर भित्रिने र जिल्ला बाहिर जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।