Thursday, July 16News That Matters

कार्य प्रगतीमा अघी बढ्दै उदयपुर जिल्ला अदालत

पूर्णपुष्टि/उदयपुर, असार ३२ ।
उदयपुर जिल्ला अदालतले दुई वर्षभन्दा पुराना मुद्दाको संख्या शून्यमा झार्दै पुराना मुद्दा फछ्र्यौट अभियानलाई सफल बनाएको छ । आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण सार्वजनिक गर्दै अदालतले दुई वर्ष नाघेका फैसला कार्यान्वयनका कुनै पनि मुद्दा बाँकी नरहेको जनाएको हो ।

अदालतका जिल्ला न्यायाधीश मुकेश उपाध्यायका अनुसार पुराना मुद्दा समयमै टुंग्याउने नीतिले प्रभावकारी परिणाम दिएको छ। उनका अनुसार चालु आर्थिक वर्षमा अदालतले लक्ष्यको १०२ दशमलब ३३ प्रतिशत प्रगति हासिल गरेको छ । हाल १८ महिना नाघेका फछ्र्यौट हुन बाँकी ६ वटा मुद्दा मात्र रहेका छन् ।

अदालतको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/०८३ मा जिम्मेवारी सरी आएका र नयाँ दर्तासहित कुल २ हजार ४ सय ८७ मुद्दामध्ये १ हजार ६ सय २९ मुद्दा फछ्र्यौट गरिएको छ, जुन ६७ दशमलब ०२ प्रतिशत हो । अब ८ सय २० मुद्दा मात्र बाँकी रहेका छन् ।

यस्तै, फैसला कार्यान्वयनतर्फ जिम्मेवारी सरी आएका निवेदनसमेत गरी कुल ४ सय ६२ मध्ये ३ सय ३५ वटा फछ्र्यौट भई ७२ दशमलब ०५ प्रतिशत प्रगति हासिल भएको अदालतले जनाएको छ । यसतर्फ १ सय २७ निवेदन अझै बाँकी छन् भने ६ महिना नाघेका ४८ वटा मुद्दा मात्र रहेका छन् ।

कैद, जरिवाना तथा क्षतिपूर्ति असुलीमा पनि अदालतले कार्यान्वयनलाई निरन्तरता दिएको जनाएको छ। कैदतर्फ कुल २ हजार ७ सय ३९ वर्ष ११ महिना ६ दिनको लगतमध्ये ४ सय ९२ वर्ष १४ दिन बराबरको कैद कार्यान्वयन भएको छ, जसको प्रगति १८ प्रतिशत रहेको छ ।

जरिवानातर्फ ४५ करोड ६९ लाख ४५ हजार ७ सय ९८ रुपैयाँ लगतमध्ये १८ करोड ७८ लाख ४८ हजार ४ सय ७४ रुपैयाँ असुल भएको छ । यसतर्फ ४१ दशमलब १ प्रतिशत प्रगति हासिल भएको अदालतले जनाएको छ ।

यस्तै, पीडितलाई भराउनुपर्ने १ करोड २८ लाख ९ हजार २ सय ५१ रुपैयाँ क्षतिपूर्तिमध्ये २७ लाख ४४ हजार ९ सय ३० रुपैयाँ भराइएको छ । क्षतिपूर्ति असुलीको प्रगति २१ दशमलब ४ प्रतिशत रहेको अदालतले जनाएको छ ।

अदालतका अनुसार फरार प्रतिवादी, आर्थिक असुलीको जटिलता तथा सम्बन्धित निकायसँगको समन्वयका कारण केही फैसला पूर्ण रूपमा कार्यान्वयन गर्न समय लाग्ने गरेको भए पनि पुराना मुद्दा टुंग्याउने अभियानलाई निरन्तरता दिइने बताइएको छ ।