
असार २९
कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण विद्यालयहरू बन्द हुँदा विश्वमा करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुस्किल रहेको एक अध्ययनले देखाएको छ ।
सेभ द चिल्ड्रेनले यस घटनालाई ‘अभूतपूर्व शैक्षिक आपतकाल’ को संज्ञा दिएको छ । बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्याङ्क विश्लेषण गर्दै गत अप्रिलमा विद्यालय र विश्वविद्यालयहरू बन्द रहेका कारण विश्वभरका १ अर्ब ६० करोड बालबालिका विद्यालय शिक्षाबाट वन्चित रहेको जनाएको छ ।
यो सङ्ख्या विश्वको कुल विद्यार्थी सङ्ख्याको करिब ९० प्रतिशत हो । हाम्रो मानव इतिहासमा विश्वभरका यति ठूलो सङ्ख्यामा बालबालिका पहिलो पटक विद्यालय शिक्षाबाट वन्चित रहेको सेभ द चिल्ड्रेनको प्रतिवेदनमा उल्लेख छ ।
कोरोनाले उत्पन्न आर्थिक सङ्कटका कारण करिब ९ करोडदेखि ११ करोड ७० लाख बालिबालिका गरिबीको चक्रमा फस्नेछन् । यसको असर बालबालिकाको पुनः विद्यालय भर्नामा पर्ने जनाईएको छ ।
पारिवारिक समस्याका कारण धेरै बालबालिकाहरू काममा लाग्ने वा बालिकाहरूको चाँडो विवाह हुन सक्ने भन्दै प्रतिवेदनमा यही कारण ७० लाखदेखि ९७ लाख बालबालिकाले स्थायी रुपमै विद्यालय छाड्ने देखिन्छ । यस्तै, यही सङ्कटका कारण सन् २०२१ को अन्त्यसम्ममा न्यून वा मध्यम आय भएका मुलुकमा शिक्षाको बजेटमा करिब ७७ अर्ब डलरले कमी हुनेछ ।
प्रतिवेदनमा विश्वका १२ वटा मुलुकमा सर्वाधिक असर पर्ने उल्लेख छ । ती देशहरूमा नाइजर, माली, चाड, लाइबेरिया, अफगानिस्तान, गिनी, मौरीटानिया, येमन, नाइजेरिया, पाकिस्तान, सेनेगल र आइभरीकोस्ट रहेका छन् ।
