
पूर्णपुष्टि, जेठ २८ गते ।
कोरोना महामारीको समयमा स्थानीय तहहरुले गरेको काम प्रशंसनीय रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।
संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले महामारीमा कसरी काम गर्ने भन्ने अनुभव नभएका पालिकाका जनप्रतिनिधिहरुले महामारी नियन्त्रण तथा राहतको लागि उत्कृष्ट काम गरेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ’एकैपटक महामारी आयो, नयाँ किसिमको रोग, बजेटको सिमितता छ, उद्धार, राहत, सङ्क्रमण नियन्त्रण, परीक्षण, उपचार सबै काम एक्कासी गर्नु पर्दाको अवस्थामा संयमताको साथ उत्कृष्ट काम गरिरहेको छ ।’
भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको संख्या बढेको र ८५ प्रतिशत संक्रमितहरु भारतबाट घर फर्किएकाहरु रहेको प्रधानान्त्री ओलीले बताउनुभयो । एक्कासी आएका मानिसलाई खान बस्नको व्यवस्था, परीक्षण, उपचारको लागि पालिकाका जनप्रतिनिधिहरुले उत्कृष्ट व्यवस्थापन गरेको उहाँले दाबी गर्नुभयो ।
पीसीआर परीक्षण नगरिएका तर संक्रमणको सम्भावना भएका व्यक्तिको छेउमा जोखिम मोलेरै जनप्रतिनिधिहरु पुगेर व्यवस्थापनको काम गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
सरकारले पालिकाहरुलाई बजेट पठाएको र उनीहरुले अनियमितता गरिहाल्छन् भन्ने अहिले नै सोच्न नहुने बताउनुभयो । यस्तो संकटको बेला कसैले अनियमितता गर्छ भन्नेमा आफूलाई विश्वास नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
आन्तरिक लेखा परीक्षण तथा महालेखापरीक्षकको प्रतिवेदन तयार हुने र कसैले अनियमितता गरेमा कारबाही गर्ने प्रधानमन्त्रि ओलीले बताउनुभयो । अहिले कामको बेला भएकोले लेखापरीक्षणमा केन्द्रित नभएको उहाँले बताउनुभयो ।
