
पूर्णपुष्टि, असोज २० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजिनामा दिएका छन् । शनिबार प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री कार्कीले राजिनामा दिएका हुन् ।
विश्वासको मत लिन बोलाईएको प्रदेश सभा बैठकलाई सम्बोेधन गर्दै मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रक्रिया अगावै सभामुखलाई राजिनामा बुझाएका हुन् । मुख्यमन्त्री कार्कीले पदबाट राजिनामा दिएपछि एमाले प्रदेश सरकारको नेतृत्वबाट बाहिरिएको छ । संविधानजको धारा १६८ को उपधारा ३ बमोजिम दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका कार्कीले उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्न नपाउने भन्ने सुझाव आएपछि राजिनामा दिएका हुन् ।
एमाले, माओवादी, राप्रपा र जसपासहितको सहभागितामा २४ पुष मा पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत पाउन नसकेर असार १५ मा १७४ दिनमै पदमुक्त भएका थिए भने सर्वोच्च अदालतको परमादेशपछि २२ भदौ मा दोस्रो पटक मुख्यमन्त्री बनेका कार्की ३० दिनमै पदमुक्त भएका हुन् । कोशी प्रदेशमा एमाले नेतृत्वको चौथो सरकार ढलेपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार बन्ने बाटो खुलेको छ ।
गणितीय सम्भावना कमजोर भए पनि एमालेले प्रदेशका अन्य दलहरुसँग विश्वासको मत मागेको थियो थियो। ‘प्रदेशको स्थिरताका लागि र सहमतिका साथ प्रदेशलाई अघि बढाउँदै मध्यावधि निर्वाचनको संकटमा नधकेल्नका लागि दलहरुले साथ दिने विश्वास छ’, मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दै अन्य दलहरुलाई आग्रह गरेका थिए। तर, अहिलेको अल्पमतको सरकारलाई साथ दिन नसकिने भन्दै विपक्षी गठबन्धनले विश्वासको मतको विपक्षमा मतदान गर्ने भएपछि मुख्यमन्त्री कार्कीले राजीनामा दिएका हुन्।
नेपाली काँग्रेस (२९), नेकपा माओवादी केन्द्र (१३), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी (१) ले विपक्षमा मतदान गर्ने घोषणा गरेका थिए। यसपटक ६ जना सांसद भएको राप्रपाले पनि साथ नदिँदा प्रदेशमा एमाले एक्लिएको हो । कोशीमा अब नयाँ सरकार बनाउने तयारीमा लाग्ने विपक्षी गठबन्धनको भनाइ छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेशसभामा बहुमत जुटाउन सक्ने सांसदले बहृुमत सदस्यको समर्थनमा मुख्यमन्त्री दाबी गर्न सक्नेछ । यो सँगै प्रदेश सभा गठनको १० महिनाभित्रै कोशीमा सरकार निर्माणको सबै संवैधानिक प्रावधान प्रयोग हुनेछ । दश महिना पूरा हुँदानहुँदै प्रदेशसभाको चौथो अधिवेशनसमेत चलिरहेको प्रदेशमा अब बन्ने सरकार पाँचौं हुनेछ ।
अब नयाँ सरकार बन्ने र त्यो गठबन्धनकै नेतृत्वमा बन्ने नेताहरुले बताएका छन्। ‘अब गठबन्धनकै नेतृत्वमा बहुमत जुटाउन सक्ने सम्भावना मध्यनजर गरेर नयाँ सरकारको तयारी थाल्ने माओवादी नेता इन्द्र बहादुर आङबोले बताएका छ्न ।केन्द्रमा पनि छलफल गरेर कसको नेतृत्वमा सरकार बनाउने भन्ने टुंगोमा पुग्ने उनले बताए । प्रदेशमा अब गठन हुने सरकारको नेतृत्वमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको दाबी छ। आलोपालोका लागि एकीकृत समाजवादी पनि मौका पर्खेर बसेको छ। तर, यी सबै दलहरुले गठबन्धनमा राप्रपालाई ल्याउने गरी तयारी थाल्ने र सहमतिमा सरकारको नेतृत्व चयन गर्ने बताउँदै आएका छन्।