
पूर्णपुष्टि, भदौ ३ । उदयपुर र सुनसरी जिल्लाको सिमानामा रहेको कोशी पुलबाट हामफालेर एक युवक बेपत्ता भएका छन्। प्रहरी चौकी चतराका प्रहरी नायव निरिक्षक प्रशु बिष्टका अनुसार दिउँसो ४ बजेर ३५ मिनेटतिर अन्दाजी २० देखि २५ वर्षका एक पुरुषले चतरा पुलबाट कोशी नदीमा हामफालेको स्थानीयले देखेका छन्। स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
बिष्टका अनुसार ती युवक को ९ प ९८६५ नम्बरको स्कुटरमा आएका थिए। उनले पुलमा स्कुटर रोकेर आफ्नो मोबाइल स्कुटरमै राखेर हामफालेको बताइएको छ। घटनापछि प्रहरीले स्कुटरमा रहेको मोबाइलमा आएको मिस्ड कलको नम्बरमा सम्पर्क गरेको थियो। सम्पर्क गर्दा ती व्यक्ति धरान घर भएको र फोनमा बोल्ने व्यक्ति उनको आफन्त रहेको खुलेको प्रहरीले जनाएको छ। हालसम्म बेपत्ता युवकको पहिचान खुल्न नसकेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
