Thursday, May 21News That Matters

कोशी प्रदेशले सार्वजनिक गर्‍यो निर्माण गर्ने ३८५ सडकको सूची

पूर्णपुष्टि, पुष ८ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सरकारद्वारा निर्माण गरिने ३८५ वटा सडकको सूची सार्वजनिक गरेको छ । यो सूची प्रदेश सार्वजनिक सडक ऐन २०७७ को मापदण्ड अनुसार राजपत्रमा प्रकाशित गरिएको हो ।

सूचीमा प्रादेशिक सहायक लोकमार्ग अन्तर्गत ९६ वटा सडक (९३१६३.५८ किमी) र प्रादेशिक मार्ग अन्तर्गत २८९ वटा सडक (९५८१५.५० किमी) समावेश छन् । भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईका अनुसार यी सडकहरू २ किलोमिटरदेखि १०८ किलोमिटरसम्म लामा छन् ।

मन्त्री राईले यी सडकहरूको निर्माण क्रमशः हुने र डिपिआर पनि क्रमैसँग गरिने बताए । उनका अनुसार सूची तयार गर्न २०७६ सालदेखि काम सुरु भएको थियो । सूचीमा समावेश भएका केही सडकहरू निर्माणाधीन अवस्थामा छन् भने केही योजना चरणमा रहेका छन् ।
प्रमुख सडकहरूमा लरुम्बा–नेपालटार सडक (७६.४५३ किमी), भेडेटार–राजारानी रवि राँके सडक (६३.५७७ किमी), र बहन्डे बजार–थाङ्ला भञ्ज्याङ सडक (७० किमी) लगायत रहेका छन् । मन्त्रालयले यी सडकहरूको निर्माणको लागि आवश्यक बजेटको विवरण भने अहिलेसम्म तयार गरेको छैन ।