Thursday, April 30News That Matters

कोशी प्रदेश सरकारको जिन्सी सम्पत्ति ५ अर्ब नाघ्यो

पूर्णपुष्टि, मंसिर ७ ।  कोशी प्रदेश सरकारले विगत ७ आर्थिक वर्षमा ५ अर्ब १६ करोड रुपैयाँ बराबरको जिन्सी सम्पत्ति जोडेको छ । प्रदेश कोष तथा महालेखा नियन्त्रकको कार्यालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रदेश सरकारको कुल जिन्सी सम्पत्ति ५ अर्ब १६ करोड ४१ लाख २ हजार ६१५ रुपैयाँ पुगेको हो ।

सात वर्षको अवधिमा प्रदेश सरकारले ३२१ वटा कार-जिप, १,८७७ वटा मोटरसाइकल र ८,५७१ वटा कम्प्युटर खरिद गरेको देखिन्छ । साथै प्रदेश सरकार मातहतमा ५७४ स्थानमा घरजग्गा रहेको विवरणमा उल्लेख छ ।

मन्त्रालयगत विवरण हेर्दा भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयको सम्पत्ति सबैभन्दा बढी छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा १ अर्ब १७ करोड र सामाजिक विकास मन्त्रालयमा १ अर्ब २२ करोड बराबरको जिन्सी सम्पत्ति रहेको छ ।

प्रदेश लेखा नियन्त्रक दामोदर खत्रीका अनुसार साविक नेपाल सरकारका कार्यालयहरूको नाममा रहेको घरजग्गाको नामसारी नभएकाले पुरानै कार्यालयको नाममा प्रविष्ट भएको छ । साथै केही मन्त्रालयले मूल्य नखुलेका सम्पत्तिको मूल्य खुलाउन र स्रेस्ता कायम गर्न अटेरी गरेको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको जिन्सी सम्पत्ति विवरण २०७७ सालदेखि राख्न थालिएको हो । महालेखा नियन्त्रक कार्यालयले मूल्य नखुल्ने सम्पत्तिको हकमा एक रुपैयाँ प्रविष्ट गर्ने र पछि मूल्य कायम गरी स्रेस्ता अद्यावधिक गर्न निर्देशन दिएको छ ।