
पूर्णपुष्टि, १४ असार ।
माओवादी र जसपा सरकार बाट बाहिरे सगै अल्पमतमा परेको हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारले विश्वासको मत लिने निर्णय गरेको छ । कार्कीले यीनै सरकारलाई निरन्तरता दिने दाउमा विशवासको मतको लागि दौडधुप गरिरहेको छ । यसैबीच नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सहमतिको सरकार बनाउन सबै दललाई आग्रह गर्ने निर्णय गरेको छ । विराटनगरस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले सहमतिको सरकार बनाउन आह्वान गर्ने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
एमालेले प्रदेशलाई अस्थिरताबाट जोगाउनका लागि सहमतिको सरकार बनाउन आग्रह गर्ने निर्णय गरेको उनको भनाइ छ । मुख्यमन्त्री कार्कीले यसअघि पनि सहमतिको सरकार बनाउन आग्रह गरेका थिए । तर आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने उनको अडान छ ।
कार्की नेतृत्वको सरकारलाई हाल एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसदको समर्थन छ । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । ९३ जना प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादीको सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद छन् । कांग्रेससहितको गठबन्धनले कार्की नेतृत्वको सरकार ढलेसँगै अर्को सरकार गठनको लागि पहल गरिरहेको छ । नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा कार्की नेतृत्वको सरकार ढाल्ने पक्षमा छ । यी दलहरुले कार्कीलाई विश्वासको मत नदिने समेत निर्णय गरिसकेको छ ।
