Monday, November 11News That Matters
२६ कार्तिक २०८१, सोमबार

कोशी सरकारमा सत्तारूढ गठबन्धनलाई सहभागी गराएपछि एमाले बाहिरियो

पूर्णपुष्टि, कार्तिक १८ । कोशी सरकारमा सत्तारूढ गठबन्धनलाई सहभागी गराएपछि नेकपा एमाले बाहिरिएको छ । शुक्रबार मुख्यमन्त्री केदार कार्कीले सत्तारूढ गठबन्धन दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएका थिए ।

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले सत्तारुढ दललाई सरकारमा सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको हो । आज बिहान एमालेबाट विनाविभागीय मन्त्री बनेका राम रानाले मुख्यमन्त्री कार्कीको सरकारी निवासमा पुगेर मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएको हो । राजीनामा बुझाएका रानाले सहमति कार्यान्वयन नभएपछि राजीनामा बुझाएको बताए । मन्त्रीको राजीनामा पछि एमाले र विद्रोही कांग्रेसको सहकार्य २० दिनमै टुटेको छ ।

कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका कार्की नेकपा एमालेको समर्थनमा २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए । २८ असोजमा सपथग्रहण गरेका उनले सोही दिन एमालेबाट राम राना र कांग्रेसबाट शम्शेर राईलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । १ कात्तिकमा उनलाई राप्रपा बाहेक सबै दलले विश्वासको मत दिएका थिए ।

शपथग्रहण पछि कार्कीले सर्वदलीय सरकार गठनको प्रयास गरेका थिए । गठबन्धनलाई सहभागी गराए सरकार छाड्ने एमालेको अडान र एमालेलाई बाहिर राख्नुपर्ने कांग्रेससहित गठबन्धन दलको दबाबका कारण उनले निर्णय लिन सकेका थिएनन् । शुक्रबार बिहान सत्तारुढ गठबन्धन दलसँगको छलफलपछि माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगुलाई मुख्यमन्त्री कार्कीले विनाविभागीय मन्त्री नियुक्त गर्दै सरकारमा सहभागी गराएका थिए ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0